काठमाडौँ । त्रिशूली नदीमा १८ महिना अगाडि बेपत्ता भएको गणपति डिलक्स बस फेला परेको छ । सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मनिष थापाका अनुसार बालुवाले पुरिएको अवस्थामा उत्खनन गर्दै जाँदा मङ्गलबार उक्त बस फेला परेको हो ।
प्रहरीले पुस २८ गते सोमबार त्रिशूली नदीमा गाडिएको बस देखेपछि उत्खनन कार्य सुरु गरेको थियो । प्रवक्ता थापाले भन्नुभयो, “पुरिएको अवस्थामा रहेको बसको उत्खनन कार्य जारी छ । फेला परेको बस गणपति डिलक्स नै भएको यकिन भएको छ ।” बससँग सम्बन्धित थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
उक्त बस १८ महिना अगाडि चितवनको मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत सिमतालमा गएको पहिरोका कारण बेपत्ता भएको थियो । सो घटनामा पहिरोले दुई वटा बस त्रिशूली नदीमा खसालेको थियो ।
वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४१५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएर नदीमा खसालेको थियो ।






































