भद्रपुर, (झापा) : विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले संर्घषपूर्ण जीत निकाल्दै झापाको बिर्तामोडमा जारी चौथो झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार भएको खेलमा मोरङ ११ लाई शून्यको विरुद्ध एक गोल गर्दै एपिएफले संर्घषपूर्ण जीत दर्ता गरेको हो।
निक्कै प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो हाफ्मा गरेको गोल नै खेलको निर्णायक बन्यो। पहिलो हाफको इन्जूरी समयमा एपिएफका हरि कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाए। उनले गरेको गोल नै निर्णायक बन्यो।
खेलमा एपीएफले मोरङबाट खेल्ने खेलाडीका विरुद्ध आयोजकसमक्ष ‘पोटेक्स’ अपिल गरेपछि खेल २३ मिनेट रोकिएको थियो। त्यसपछि एपिएफ टिमलाई माथिल्लो निकायबाट खेल खेल्न निर्देशन दिएपछि खेल पुनः सुचारु भएको थियो।
खेलमा निर्णायक गोलकर्ता एपीएफका हरी कार्की म्यान अफ दी म्याच घोषित भए। उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे।
यसैबीच सोमबार आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच खेल हुने आयोजक समितिले जनाएको छ। प्रतियोगिताको विजेता टिमलाई नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँसहित ट्रफी पाउनेछ।







































