दक्षिणी रसुवाको खाल्चेत क्षेत्रमा आज बिहान जङ्गली भालुको आक्रमणबाट दुई जना गम्भीरघाइते भएका छन्। घाइते हुनेमा नौकुण्ड गाउँपालिका–५ खाल्चेतका ६५ वर्षीय मानबहादुर तामाङ र कालिका गाउँपालिका–५ डिगाउँका ५० वर्षीय शिवप्रसाद गजुरेल रहेका छन्।
स्थानीय बासिन्दा रामप्रसाद पौडेलका अनुसार निजी जमिनमा घाँस काटिरहेको समयमा लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको भालुले अचानकै आक्रमण गरेको हो। आक्रमणपछि दुवै जनालाई स्थानीयस्तरमै प्राथमिक उपचार गराइएको थियो।
गम्भीर चोट लागेको कारण थप उपचारका लागि उनीहरूलाई काठमाडौँ रेफर गरिएको प्रहरीले जनाएको छ। प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार घटनास्थल आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।




































