देवी माध्यमिक विद्यालयमा अभिभावक अभिमुखीकरण सम्पन्न 

0
भक्तपुर, ताथली | चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित देवी माध्यमिक विद्यालयले अभिभावक अभिमुखीकरण कार्यक्रम गरेकाे छ ।
असल अभिभावकत्व विषयमा करिब डेढ घन्टासम्म उत्प्रेरक तथा परामर्शकर्ता कमल सिलवालका भनाइमा अभिभावकहरू एकचित्त भएका थिए । अधिकांश अभिभावकहरू पूर्ण रूपमा ध्यान केन्द्रित गरी सहजीकरणमा सहभागी भएका थिए ।
कार्यक्रममा उत्प्रेरक सिलवालका कतिपय भनाइले हलमा सहज हाँसो पनि ल्यायो। तर त्यो हाँसो केवल मनोरञ्जनका लागि मात्र थिएन। त्यसमा अभिभावककाे दैनिक व्यवहारकाे ऐना समेत देखिएको थियाे ।
अभिभावकहरूका आफ्नै व्यवहार, आफ्नै पारिवारिक अभ्यास र आफ्नै यथार्थसँगको प्रतिविम्ब मिसिएको व्यवहारले हाँसो पनि उठाएको थियोे । तर त्याे हाँसो मनाेरञ्जनभन्दा आत्ममूल्याङ्कनकाे क्षण थियाे। `बच्चा चुप लागोस् भनेर मोबाइल दिने हामी नै पछि गुनासो गर्छौँ, मेरो बच्चा मसँग बोल्दैन,´ भन्ने भनाइमा आएको हाँसो धेरै अभिभावकका लागि आत्ममूल्याङ्कनको क्षण बन्यो।
सहजीकरणका क्रममा उत्प्रेरक सिलवालले विद्यालय र घरको भूमिकालाई स्पष्ट पार्दै भने, `विद्यालय परीक्षणशाला हो भने घर वास्तविक प्रयोगशाला हो।´ उनका अनुसार शिक्षकले मार्गदर्शन गर्नुहुन्छ, तर बालबालिकाको चरित्र, अनुशासन, व्यवहार र मानसिक स्वास्थ्य मुख्यतः घरमै निर्माण हुन्छ। अंक, परीक्षा र प्रतिस्पर्धामै सीमित सोचले बालबालिकालाई अनावश्यक दबाबमा पार्ने र उनीहरूको आत्मविश्वास कमजोर बनाउने उनकाे धारणा थियो।
उनले अभिभावकहरूले अन्जानमा गर्ने गम्भीर त्रुटिका रूपमा तुलना गर्ने प्रवृत्तिलाई औँल्याए। `छिमेकीको छोरा, मामाघरको छोरी वा सामाजिक सञ्जालमा देखिने बालबालिकासँग तुलना गर्दा बालबालिकाको आत्मबल क्रमश: क्षीण हुँदै जान्छ,´ उनले स्पष्ट भने,`यस्तो तुलना तत्काल देखिने समस्या नदेखिए पनि दीर्घकालीन रूपमा बालबालिकाको सोच, निर्णय क्षमता र व्यवहारमा गहिरो असर पर्ने गरेको छ ।´
त्यसैगरी, डर, धम्की र कुटपिटलाई अनुशासनको माध्यम ठान्ने सोचप्रति सिलवालले प्रश्न उठाउँदै समस्या समाधानको उपाय बालबालिकालाई सजाय नभएकोमा जाेड दिए । `डरले बालबालिका केही क्षणका लागि शान्त त हुन्छन्, तर सच्चिदैनन्,´ उनले भने ।  संवाद, समझदारी र विश्वासबाट मात्र दीर्घकालीन सुधार सम्भव हुने उनको जोड थियो । अभिभावक र बालबालिकाका व्यवहारजन्य समस्यालाई शिक्षक, विद्यार्थी र अभिभावक मिलेर समाधान गर्नुपर्नेमा जाेड दिएका उनले अभिभावकहरू गम्भीर बन्नुपर्ने  उल्लेख गरे ।
अन्तरक्रियात्मक विधिबाट सञ्चालन गरिएको अभिभावक अभिभावक अभिमुखीकरणमा उनले अभिभावक शिक्षाको अभावमा कैयौं बालबालिकाहरू स्कुलका साथै आफ्नै घरमा दबाबपूर्ण जीवन बिताउन बाध्य भएको जनाउँदै बालबालिकाका पहिलो शिक्षकका रूपमा रहेका आमाबाबुलाई सिकाइ र बालबालिकाकाे मनाेविज्ञानबारे कक्षा सञ्चालन गर्नुपर्ने बताए ।
कार्यक्रममा देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले विद्यालयको धारणा राख्दै विद्यार्थीको समग्र विकासका लागि विद्यालय र अभिभावकबीचको सहकार्य अपरिहार्य रहेको बताए । `विद्यालयलाई समस्या पर्दा मात्र होइन, सन्तानको शैक्षिक र व्यवहारिक प्रगतिबारे बुझ्न पनि अभिभावकहरू नियमित रूपमा विद्यालयसँग सम्पर्कमा रहनु आवश्यक छ,´ उनले आग्रह गरे ।
त्यस्तै, चाँगुनारायण नगरपालिका–९ का वडा अध्यक्ष गणेश त्यातले शिक्षाको गुणस्तर सुधार विद्यालयको मात्र दायित्व नभई घर, विद्यालय र समुदायको साझा जिम्मेवारी भएको उल्लेख गरे । घरमै संस्कार, अनुशासन र संवादको वातावरण निर्माण भए मात्र विद्यालयका प्रयास प्रभावकारी हुने उनकाे भनाइ थियो।
कार्यक्रममा विव्यस पदाधिकारी, अभिभावक – शिक्षक संघका पदाधिकारी, सल्लाहकार, शिक्षक तथा अभिभावकहरूकाे सहभागिता रहेको थियाे । विद्यालयले अभिभावक उत्प्रेरणा कार्यक्रमलाई निरन्तर रूपमा अघि बढाउने जनाएको छ ।
कार्यक्रम उपयोगी र प्रभावकारी भएको सहभागी अभिभावकहरूले प्रतिक्रिया दिए । उनीहरूले अभिमुखीकरण कार्यक्रम आत्ममन्थन र  जिम्मेवारीको बोध गर्न सहयोगी भएकाे र अभिभावकहरूले आफ्नै भूमिकालाई पुनः मूल्याङ्कन गर्ने र बालबालिकासँगको सम्बन्धलाई नयाँ दृष्टिले हेर्ने अवसर भएको प्रतिक्रिया दिए ।