देशकै ठूलो श्री स्टीलको उत्पादन दशैंपछि, अर्घाखाँची सिमेन्टका मुरारका वाहेकका चार जनाको लगानी :: BIZMANDU

264


भैरहवा। सिमेन्टमा पायोनियर समूह मिलेर तीन अर्ब रुपैयाँमा स्थापना भएको श्री स्टीलले दशैंपछि व्यवसायिक उत्पादन थाल्ने भएको छ।

सिद्धार्थ समूहका राजेशकुमार अग्रवाल तथा जगदीश अग्रवाल, केडिया समूहका मनोज केडिया र गौरब अग्रवालको संयुक्त लगानीमा स्थापना भएको यो उद्योग नेपालकै ठूलो अटोमेटिक प्लान्ट भएको दाबी छ। उद्योगले श्री ब्राण्डमै डन्डी बजारमा बिक्री गर्नेछ।अर्घाखाँची सिमेन्टका पशुपति मुरारका वाहेकका लगानीकर्ता यो उद्योगमा आवद्ध छन्। यो उद्योगमा चार जनाको २५/२५ प्रतिशत लगानी छ।

जापानी प्रविधिबाट डन्डी उत्पादन गर्ने पहिलो उद्योग हुने कम्पनीको दाबी छ।‘सबैभन्दा बढी भूकम्पको जोखिम रहेको देश जापान हो। हामीले त्यहीको प्रविधि ल्याएर डन्डी उत्पादन थालेका छौं’ संचालक राजेशकुमार अग्रवालले बिजमाण्डूसँग भने,’ जापानले आफ्नो रिक्वारमेन्टको आधारमा अझ राम्रो डन्डी उत्पादन गर्नुभएकोले हामीले त्यो प्रविधि ल्याएका हौं।हामी पनि भूकम्पको जोखिम भएकै देश भएकाले गुणस्तरीय प्रविधि आवश्यक छ।’

उनले गुणस्तरमा कुनै सम्झौंता नगरि बलियो डन्डी उपभोक्तालार्इ दिने बताए।‘तीन अर्ब लगानी भएको नेपालको सबैभन्दा ठूलो उद्योग यही हो। हामीले गुणस्तरमा कुनै सम्झौंता गर्दैनौं। त्यही भएर हामीले जापानी प्रविधिबाट डन्डी उत्पादन गरेका हौं’ उनले भने। उनका अनुसार यो उद्योगबाट वार्षिक २ लाख ५० हजार टन डन्डी उत्पादन हुनेछ। यो उद्योगबाट ८ एमएमको डन्डीदेखि ४० एमएमको डन्डीसम्म उत्पादन हुनेछ। उनले सुरुवातमा विलेट ल्याएरनै उत्पादन गर्ने बताउँदै पछि स्क्रयाबबाट उत्पादन गर्ने बारेमा केही नसोचेको बताए।

 डन्डीमा ‘विगफाइट’
सिमेन्टपछि अब मुलुकभित्र स्टील उद्योगको विगफाइट सुरु हुने देखिएको छ। अहिले धेरै व्यवसायिक घरानाले स्टील उद्योगमा हात हालेका छन्।

एक दर्जन भन्दा बढी स्टील उद्योगको उत्पादन वर्षदिन भित्र आउँदैछन् भने अरु आधा दर्जन उद्योग दर्ता गरेर पूर्वाधार निर्माणमा लागेका छन्। श्री स्टीलका संचालक अग्रवाल गुणस्तरीय उत्पादनले बजार टिक्ने बताउँदै ‘विगफाइट’को रुपमा नलिने बताए।‘जसको उत्पादन राम्रो छ त्यही बजारमा बाँच्छ। साना उद्योगलार्इ पनि क्षमता बढाउन दबाब पर्छ’ उनले भने।

अहिले देशभर झण्डै दुर्इ दर्जन उद्योग संचालनमा छन्।उद्योग विभागका अनुसार क्याल समूहको नारायणी स्पात,अम्बे समूहको जय अम्बे स्टील, शारडा र राठी समूहको प्रिमियर स्टील, लक्ष्मी समूहको सिद्धिलक्ष्मी स्टील, भूषण स्टीलको आरती टिएमटी,सौरभ समूहको सर्वोत्तम स्टील, विजय आइरन एण्ड स्टील, शैलुङ एण्ड एसएमर्इ स्टील लगायतका स्टील उद्योग आउने क्रममा छन्।यो मध्ये चैतमै माधव श्रेष्ठ र प्रमोदकुमार काबरा समूहको फेरो स्टीलले उत्पादन सुरु गरिसकेको छ।




देशकै ठूलो श्री स्टीलको उत्पादन दशैंपछि, अर्घाखाँची सिमेन्टका मुरारका वाहेकका चार जनाको लगानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

Source link