भक्तपुर — नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशप्रति युवाहरूको असन्तुष्टि चरममा पुगेको भन्दै यसलाई अपराध नभई वास्तविक भावनाका रूपमा बुझेर समाधानका ठोस कदम चाल्न पार्टीलाई आग्रह गर्नुभएको छ ।
शनिबार भक्तपुरमा आयोजित स्व. श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा बोल्दै थापाले धेरै युवाहरूमा “यो देश बस्न योग्य छैन” वा “बस्न योग्य हुन सक्दैन” भन्ने सोच फैलिँदै गएकोप्रति गहिरो चिन्ता व्यक्त गर्नुभयो।
उहाँका अनुसार नेपालमा अवसरको कमी छ र पाएका अवसरले पनि धेरै युवाहरूलाई सन्तुष्ट पार्न सकेको छैन। त्यसैले युवाप्रति लक्षित र परिणाममुखी कार्यक्रम ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।
पार्टीभित्र चुनाव हार्ने डरका कारण राजनीति कमजोर बन्दै गएको टिप्पणी गर्दै थापाले कांग्रेसलाई बलियो बनाउन अग्रज नेताहरूको मार्गनिर्देशन पालन गर्न सबै नेताकार्यकर्तालाई आह्वान गर्नुभएको थियो।
कार्यक्रममा संघीय सांसद दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै आफू एआई राजनीति का लागि तयार रहेको बताउनुभयो।
उहाँले स्व. श्यामबहादुर कार्कीको स्मृतिमा स्थापित प्रतिष्ठानले प्रत्येक वर्ष विद्यार्थीहरुलाई व्याग, पोशाकलगायत स्टेशनरी सामग्री वितरण गर्नुका साथै रक्तदान जस्तो पुण्यको कार्य गर्दै आइरहेकोले अन्य प्रतिष्ठान जस्तो यो निष्कृय भएर नजाने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले आगामी दिनमा नेपाली कांग्रेसले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिसँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने उल्लेख गर्दै आफू एआई राजनीतिका लागि तयार रहेको बताउनुभयो ।
सो अवसरमा सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित श्री बालविनायक आधारभुत विद्यालयका १५२ जना विद्यार्थीहरुलाई स्कुल व्याग, स्टेशनरी सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिनुभयो । साथै कार्यक्रममा खुल्ला रक्तदान समेत आयोजना गरेको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य रमा कोइराला, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, बागमती प्रदेशका पुर्वमन्त्री कृष्णलाल भँडेल, नेपाली कांग्रेस भक्तपुरका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।






































