नेकपाबाट माधव नेपाल पक्षका ३० नेताले पाए टिकट

6

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले केही निर्वाचन क्षेत्र बाहेक प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका उम्मेदवारहरू टुंगो लगाएको छ । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी रुकुमबाट र सहसंयोजक माधवकुमार नेपाल रौतहट–१ बाट उम्मेदवार बन्ने गरी नामावली सार्वजनिक गरिएको छ ।

सार्वजनिक सूचीअनुसार नेकपा बन्नुअघि एकीकृत समाजवादी पार्टीमा रहेका ३० जनाले प्रत्यक्षतर्फ टिकट पाएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम–२ मा उहाँ निकट नेता रणबहादुर राईले टिकट पाउनुभएको छ । राई सूर्योदय नगरपालिकाका वर्तमान मेयर हुनुहुन्छ ।

टिकट पाउनेमा माधवकुमार नेपालका स्वकीय सचिवसमेत रहनुभएका रामकुमार भट्टराई र नितेश पौडेल पनि हुनुहुन्छ । भट्टराई रौतहट–४ बाट र पौडेल काठमाडौं–२ बाट उम्मेदवार बन्नुभएको छ ।

यस्तै, एकीकृत समाजवादी भएर एकता प्रक्रियामा नगए पनि एमाले पृष्ठभूमिका केही नेताहरूले पनि नेकपाबाट टिकट पाएका छन् । दैलेख–२ मा योगेन्द्र शाही, बाजुरामा प्रकाश शाह र अछाम–१ मा भीम रावल टिकट पाउने एमाले पृष्ठभूमिका नेता हुनुहुन्छ । यद्यपि उहाँहरू फरक–फरक समय र प्रक्रियामार्फत नेकपामा समाहित भएका थिए ।

टिकट पाउने तत्कालीन एकीकृत समाजवादीका नेताहरू यसप्रकार छन् :

  • इलाम–१ : रणबहादुर राई
  • झापा–१ : अशेष घिमिरे
  • संखुवासभा : सरिता खड्का थापा
  • धनकुटा : धर्म पौडेल (केन्द्रीय सदस्य)
  • मोरङ–२ : चन्द्रवीर राई
  • मोरङ–३ : डा. देवमान सम्बाहाम्फे
  • सुनसरी–४ : महमद महफुज अन्सार
  • उदयपुर–१ : बलदेव चौधरी
  • सिराहा : रामचन्द्र यादव
  • धनुषा–२ : रामचन्द्र झा
  • रौतहट–१ : माधवकुमार नेपाल
  • रौतहट–४ : रामकुमार भट्टराई
  • पर्सा–२ : मनोज चौधरी
  • सिन्धुली–१ : डेकेन्द्र सुवेदी (कानुन व्यवसायी अध्यक्ष)
  • धादिङ–१ : राजेन्द्रप्रसाद पाण्डे
  • काठमाडौं–१ : मेनका भण्डारी (कृतु)
  • काठमाडौं–२ : नितेश पौडेल
  • काठमाडौं–७ : बसन्त मानन्धर
  • काभ्रे–२ : बसन्धरा हुमागाईं
  • चितवन–१ : डा. कृष्ण पन्त
  • पाल्पा–२ : सोमप्रसाद पाण्डे
  • अर्घाखाँची : रामबहादुर चौहान
  • दाङ–१ : मेटमणि चौधरी
  • बाँके–३ : दीपक जीएम
  • डोल्पा : धनबहादुर बुढा
  • मुगु : चन्द्रबहादुर शाही (केन्द्रीय सचिव)
  • दैलेख–१ : अम्बरबहादुर थापा
  • कैलाली–५ : प्रेम आले
  • बैतडी : परमानन्द भट्ट
  • कञ्चनपुर–२ : माधव पन्त

उम्मेदवार छनोटसँगै नेकपाले निर्वाचन अभियानलाई थप तीव्र बनाउने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राख्दै पार्टी संगठन परिचालन र चुनावी गतिविधि व्यापक बनाइने जनाएको छ ।