काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूह र संस्थापन समूहबीच वार्ता जारी रहेको छ । दुई समूहबीच बालुवाटारमा वार्ता भइरहेको हो ।
पार्टीभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले विशेष महाधिवेशन गरिरहेका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पक्ष तथा संस्थापन पक्षबाट वार्ता समिति गठन गरिएको थियो ।
विशेष महाधिवेशन पक्षधरका तर्फबाट केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र मधु आचार्य, साथै नेता गुरुराज घिमिरे र देवराज चालिसे वार्ता समितिमा सहभागी छन् ।
त्यसैगरी संस्थापन पक्ष तथा शेखर कोइराला समूहका तर्फबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्ता समितिमा रहेका छन् ।
वार्तामार्फत सहमतिको बाटो खोज्ने प्रयास जारी रहेको नेताहरूले बताएका छन् ।






































