नेपाली साहित्यका ‘रेकर्ड म्यान’ डा. डीआर उपाध्याय–खनाल : १५३ विश्व कीर्तिमानसहित विश्वकै शीर्ष सर्जकमा

1

काठमाडौं । नेपाली भाषा, साहित्य र गीत–संगीतलाई विश्व मानचित्रमा उचाल्ने दुर्लभ व्यक्तित्वका रूपमा डा. डीआर उपाध्याय–खनाल स्थापित हुँदै गएका छन् । गिनिज बुक अफ वल्र्ड रेकर्डदेखि अमेरिकन, ब्रिटिश, एभरेष्ट, स्टार र एक्सक्लुसिभ वल्र्ड रेकर्डसम्म दर्जनौँ अन्तर्राष्ट्रिय कीर्तिमानी पुस्तकमा नाम दर्ज गराउँदै उनले हालसम्म १५३ विश्व कीर्तिमान कायम गरिसकेका छन् ।

नेपाली साहित्यका तेजिलो तारा मानिने डा. उपाध्याय विश्वमा सबैभन्दा धेरै कीर्तिमान राख्ने शीर्ष १० सर्जकभित्र पर्न सफल भएका छन् । गीत, कविता, उपन्यास र सिर्जनात्मक प्रयोगमार्फत उनले नेपाली भाषा र सांस्कृतिक पहिचानलाई सात समुद्रपारि चिनाएका छन् ।

“लेखन मेरो श्वास हो, म बाँचुञ्जेल सिर्जना गरिरहन्छु,” भन्ने उनको भनाइले उनको सिर्जनात्मक ऊर्जालाई प्रस्ट पार्छ । समाजशास्त्रमा विद्यावारिधि गरेका उपाध्यायले शिक्षालाई साध्य होइन, साधन ठानेर समाज र राष्ट्रप्रतिको उत्तरदायित्वलाई सिर्जनाको मूल प्रेरणा बनाएका छन् ।

१७ उपन्यास, ३७ एल्बम र सयौँ कालजयी गीत

डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अधुरो प्रेम’, ‘कफी लभ’, ‘भाइरस लभ’, ‘मझधार’, ‘आसक्ति’ लगायत १७ उपन्यास प्रकाशित छन् । यस्तै ‘प्रणय’, ‘माउण्टेन मेलोडी’, ‘धरोहर’, ‘हृदयको झंकार’, ‘स्वर्गघर’ लगायत ३७ वटा गीत एल्बम श्रोता–दर्शकमाझ आएका छन् ।

सबैभन्दा सानो गीत पुस्तकदेखि विश्वकै ठूलो गीत पुस्तक, ५० भन्दा बढी अन्तर्राष्ट्रिय भाषामा गीत, २८८ लाइनको सामाजिक सन्देशमूलक गीत, एकै दिन चार गीत लेखी रेकर्ड गर्ने कीर्तिमानसम्म उनका सिर्जनात्मक प्रयोगहरू विश्वकै लागि अनौठा र प्रेरणादायी बनेका छन् ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान

डा. उपाध्याय राष्ट्रपतिको हातबाट राष्ट्रिय विभूषण, ‘हिरो २०१९’, दादा साहेब फाल्के अवार्ड लगायत दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित छन् । हालै भारतको लखनउमा आयोजित समारोहमा उनलाई नवौं मानार्थ विद्यावारिधि (डी–लिट) प्रदान गरिएको छ । यसअघि अमेरिका लगायतका आठ विश्वविद्यालयबाट मानार्थ विद्यावारिधि प्राप्त गरिसकेका छन् ।

नेपाली साहित्यको विश्व दूत

सामाजिक यथार्थ, मानवीय संवेदना, प्रेम, संघर्ष र चेतनालाई सिर्जनाको मूल आधार बनाउने डा. उपाध्यायका रचनाले सकारात्मक सोच र सांस्कृतिक चेतना प्रवाह गर्छन् । “यी रेकर्ड मेरा लागि मात्र होइन, नेपाली भाषा, गीत र संस्कृतिको विश्व पहिचानका लागि हुन्,” उनी भन्छन् ।

साधना, अनुशासन र निरन्तर श्रमलाई जीवनको मूल मन्त्र बनाएका डा. डीआर उपाध्याय–खनाल आज नेपाली साहित्य र गीत–संगीतका विश्व ब्रान्ड एम्बासडरका रूपमा उभिएका छन् । उनका पाइला अझै अगाडि बढिरहून्— यही कामना ।