भक्तपुर । पत्रकार मोहन बल्ल आफ्नै वडामा सम्मानित भएका छन् ।
सूर्यविनायक नगरपालिका–८ वडा कार्यालयले आफ्नो ठाउँ (सिपाडोल) को नाम पत्रकारिताका माध्यमबाट विश्वभर चिनाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो ।
उनलाई सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले शनिबार सम्मान गरेका हुन् ।
सोही कार्यक्रममा यस वडाका अन्य १४ जनालाई समेत सम्मान गरिएको थियो । सम्मानित हुनेमा बागमती प्रदेशको साँसदमा निर्वाचित किरण थापा, नेपाल प्रहरीका प्रहरी अतिरित्त महानिरीक्षक (एआईजी) दिपक थापा, शिक्षातर्फ पिएचडी गर्ने किशोर हाकुदुवाल, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरका उपसभापति राकेश थापा, संगीततर्फ अल्मोडा उप्रेती, गीत–संंगीततर्फ महेश्वर बोहरा (मानशराज), कलाकार यादव थापा, शिक्षा तर्फ रविन्द्र कुमार थापा, राष्ट्रिय कवडी प्रतियोगितामा स्वर्ण पदक विजेता राजेन्द्र तामाङ्ग, राष्ट्रिय महिला फुटबल टिमकी सदस्य अञ्जली मचामसी रहेका छन् ।
त्यस्तै, जिल्लास्तरीय व्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक विजेता अमिन प्रजापति, चिकित्सक दिपेन्द्र लोहला, भक्तपुर बहुमुखी क्याम्पसका लेक्चरर पुण्यराम सुकुपायो, शारीरिक सुगठनका खेलाडी हरि थापा र कलाकार सुरेश वाइवालाई सम्मान गरिएको छ ।








































