भक्तपुर । “पत्रकारिता साइबर अपराध होइन, बिद्युतिय कारोबार ऐनको दफा ४७ र ४८ खारेज गर ,प्रेसमाथिका सबै खाले ज्यादती बन्द गर,प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर ,पत्रकार अजुन गिरीलाई तत्काल रिहा गर ”
लगायतका नारा लगाउदै नेपाल पत्रकार महासंघको अगुवाईमा बिहिबार भक्तपुर जिल्ला प्रशासन कार्यालयमा पत्रकारहरुले धर्ना दिई बिरोध जनाएका छन् ।

सरकार संविधानले ग्यारेण्टी गरेको पूर्ण प्रेस स्वतन्त्रता बिरोधी हर्कतमा लागेको भन्दै देशैभरका पत्रकारहरु यतिबेला सरकारका प्रेस बिरोधी गतिबिधि तत्काल सच्याउन माग गर्दै धर्नामा बसेका हुन् ।
जिल्ला शाखाको अगुवाइमा पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिदै समाचार लेखेकै आधारमा पत्रकार पक्राउ गर्नु सरकारको प्रेस स्वतन्त्रताबिरोधी कदम भन्दै बिरोध जनाएका हुन् ।
अनलाइनमा प्रकाशित समाचारलाई लिएर पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरीविरुद्ध साइबर क्राइम मुद्दा दर्ता भएपछि पत्रकारहरुले त्यसको देश भर नै चर्को बिरोध गरिएकाे छ।

सरकारले ठगलाई पक्राउ गरि कानुनी कारबाही गर्नुपर्नेमा उल्टै ठगीको समाचार लेख्ने पत्रकारलाई पक्राउ गर्नु लज्जास्पद भएको पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथाेकिले बताए ।
पत्रकार गिरीलाई सीआईबीले गत सोमबार साइबर क्राइमअन्तर्गत पक्राउ गरेको थियो ।
बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासको उजुरीको आधारमा पत्रकार गिरी पक्राउ परेका हुन ।
बतासले पोखराकै दुई व्यापारीलाई करोडौं ठगी गरेको बिषयमा पत्रकार गिरीले समाचार लेखेका थिए । ठगिएका ती दुई व्यापारीले बतासबिरुद्ध कास्की प्रहरीमा उजुरी दिएका थिए ।
पत्रकार महासंघलगायतका विभिन्न संघसंस्थाले सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता बिरोधी गतिबिधि भन्दै गल्ती सच्याउन माग गरेका छन् । दवावका लागि बिहीबार देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको महासंघले थप संघर्षका कार्यक्रम ल्याउने तयारी गरेको छ ।

कार्यक्रममा भक्तपुरका तीन दर्जन भन्दा बढि पत्रकारले कालाे ब्यानरका साथ कलम क्यामेरा डाउन गरि विराेध जनाएका थिए ।
एक घण्टा धर्ना सकेर सरकारलाई ध्यानाकर्षण स्वरूप प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र समेत बुझाईएकाे छ ।








































