पत्रिका जलाइएको घटनाप्रति पत्रकार महासंघको आपत्ति

286

धनगढी- कैलालीमा कान्तिपुर दैनिक, काठमाडौँ पोस्ट, नागरिक दैनिक पत्रिका जलाइएकोमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।

अत्तरिया बजारमा बिक्री वितरण गर्नका लागि ल्याइएका ती पत्रिकाको पोका खोसेर अज्ञात समूहले आज बिहान आगो लगाएर नष्ट गरेको थियो। नेपालगन्जबाट बिहान अत्तरिया बजारको बिक्री केन्द्रमा पुगेको पत्रिका बोकेको जिपमा रहेका पत्रिका निकालेर चार-पाँच जनाको समूहले आगो लगाएका थिए।

नेपाल पत्रकार महासंघ कैलालीले पत्रपत्रिकामा आगजनी गरिएको घटनाप्रति आपत्ति जनाउँदै घटनामा संलग्नको खोजी गरी कडा कारबाही गर्न माग गरेको छ। 

महासंघले जारी गरेको विज्ञप्तिमा आम नागरिकलाई सुसूचित हुने अधिकारबाट वञ्चित हुने गरी पत्रिका जलाइएको यो घटना प्रेस स्वतन्त्रतामाथिको आक्रमण भएको जनाएको छ। 

गत शुक्रबार प्रदेश ७ को सभाले दुई तिहाइ बहुमतबाट सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी तोकेको थियो। राष्ट्रिय तथा स्थानीय पत्रपत्रिकाले जंगल मासेर राजधानी बनाउँदा पर्यावरणमा गम्भीर असर पुग्ने, चुरे क्षेत्र खतरामा, बाघको बाटोमा राजधानी लगायतका शीर्षक दिएर ‘गोदावरीविरुद्ध समाचार लेखेको’ उक्त समूहले पत्रिका जलाएको थियो।

Source link