सल्यान । सल्यानमा आमाले आफ्नै ४ वर्षीय छोरालाई विषखुवाई हत्या गरेको खुलासा भएको छ ।
जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ सुँगुर पोखरीकी एलिशा खत्रीले आफ्नै छोरा समीर खत्रीलाई विष खुवाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
गएको पुस २८गते बिहान आफ्नै घरमा छोराको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ । आफ्नो श्रीमान लिलाधर खत्रीसँग राम्रो सम्बन्ध नभएका कारण उनले अपरिचित ब्यक्तिसँग फोन सम्पर्क गर्दै आएकी थिइन् । आफू अविवाहित हुँ भनी प्रेम सम्बन्ध राख्नको लागि खत्रीले आफ्नै छोराको हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी बिरेन्द्र बहादुर शाहीले बताए ।
उनका अनुसार खत्रीले आफ्नो छोरा समिरलाई सल्फास नामक बिषाधी औषधी खुवाएकी थिइन । औषधी खुवाई भुतप्रेत लाग्यो भनी उपचारको लागि श्रीनगरतर्फ ल्याउदैँ गर्दा बाटोमै छोरा समिरको मृत्यु भएको थियो ।
गाउँलेहरुलाई भ्रममा पारेर खत्रीले मृतक छोरा समिरको शव जङ्गलमा गाडेपछि प्रहरीले पुष २९ गते खत्रीलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानकै क्रममाखत्रीले छोराको हत्या गरेको स्वीकार गरेपछि उनलाई जिल्ला अदालत सल्यानमा पेस गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।







































