जनकपुरधाम – सर्लाहीका माओवादी नेता नरेन्द्र साह कलवार बुधवार बिहान निकै खुशी थिए । उनको खुशीको कारण थियो, माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्यको टिकट पाउनु ।
तर, खुशी दिनभर पनि टिकेन । काठमाडौंमा बिहान ९ बजे मात्र टिकट पाएका कलवार मनोनयन दर्ता गराउन हतार-हतार जनकपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय त पुगेका थिए, तर १५ मिनेट ढिला ।
अपराह्न ४ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएकोमा सवा ४ बजे पुगेका कारण उनको उम्मेदवारी मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयले मानेन ।
भित्र पार्टी प्रतिनिधि तथा प्रस्तावक प्रदेशसभा सदस्य भरत साह र समर्थक शारदा लामा फारम भरेर तयारी अवस्थामा बसेका थिए । सडकमार्ग हुँदै जीपबाट जनकपुर पुगेका कलवार निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गर्न खोजे, तर प्रहरीले रोक्यो । केहीबेर धकेलाधकेलसमेत भयो ।
भीड जम्मा भयो, अनि विपक्षीले होहल्ला गर्न थाले । अन्तत: उनको उम्मेदवारी दर्ता नहुने नै पक्का भयो ।
माओवादीका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलका अनुसार निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले पनि मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीलाई फोन गरेर १०/१५ मिनेट ठूलो कुरा नभएकाले उम्मेदवारी दर्ता गरिदिन आग्रह गरेका थिए, तर उप्रेतीले मानेनन् ।
जबकि उप्रेति नै मुख्य निर्वाचन अधिकृत हुँदा स्थानीय तह निर्वाचनका बेला रातिसम्म उम्मेदवारी मनोनयन दर्ता गरिएको थियो । सोही (अल्पसंख्यक) कोटामा राजपाका तर्फबाट वृजेशचन्द्र लाल उम्मेदवार छन् । उनलाई निर्विरोध बनाउन निर्वाचन अधिकृतले षड्यन्त्र गरेको मण्डलको आरोप छ ।
उम्मेदवारी दर्ता गर्न नपाएपछि निरास बनेका कलवारले यसलाई जीवनकै ठूलो दुर्भाग्य भने । ‘जीवनकै ठूलो दुर्भाग्य भयो! टिकट पाएँ, तर उम्मेदवारी दर्ता भएन,’ कलवारले भने ।
प्रस्तावक र समर्थक तथा पार्टी प्रतिनिधिले फारमसमेत भरिसके पनि पार्टीले उपलब्ध गराएको आधिकारिक पत्र र उनको सिग्नेचर नहुँदा रोकिएको थियो ।
पत्र लिएर सिग्नेचर गर्न उनी त पुगे, तर त्यो १५ मिनेट दुर्भाग्य नै सावित भयो ।लोकान्तर







































