पालुङटारमा कुमाल सङ्ग्रहालय निर्माण, संस्कृति संरक्षणमा नयाँ माइलफलक

0

सुलीकोट– गोरखा जिल्लाको पालुङटार–७, ढिकिडाँडामा कुमाल समुदायको इतिहास, संस्कृति तथा पहिचान संरक्षणका उद्देश्यले कुमाल सङ्ग्रहालय निर्माण भएको छ। स्थानीय तह, प्रदेश सरकार र समुदायको संयुक्त प्रयासमा बनेको यो सङ्ग्रहालयले कुमाल समुदायको मौलिक जीवनशैली, परम्परागत सीप र सांस्कृतिक धरोहरलाई एकीकृत रूपमा संरक्षण तथा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

सङ्ग्रहालयका लागि आवश्यक १० आना जग्गा स्थानीय बासिन्दाले नै उपलब्ध गराएका हुन्। भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/७८ मा गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ विनियोजन गरिएको थियो। त्यस्तै, सङ्ग्रहालय नजिकै पालुङटार नगरपालिका–७ ले सोही आर्थिक वर्षमा २० लाख रुपैयाँ लगानीमा गोलघर निर्माण गराएको वडाध्यक्ष अर्जुन कुमालले जानकारी दिए।

हाल भवन निर्माण सम्पन्न भइसकेको र कुमाल समुदायले प्रयोग गर्ने परम्परागत भाँडाकुडा, कृषि औजार, ढुङ्गामाटोका घरको नमुना, सांस्कृतिक भेषभूषा तथा नृत्य–सामग्री संकलनको तयारी भइरहेको वडाध्यक्ष कुमालले बताए। उनका अनुसार, लोपोन्मुख परम्परागत सामग्री संरक्षित गरी भविष्यका पुस्तालाई आफ्नै संस्कृति चिन्न तथा सिक्न सहयोग पुग्नेछ।

सङ्ग्रहालय निर्माण समितिका सचिव देवीलाल कुमालका अनुसार, समुदायको दीर्घकालीन पहिचान सुरक्षित राख्न स्थायी संरचना अत्यावश्यक भएकाले स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गर्दै आवश्यक सामग्री व्यवस्थापन र बजेट जुटाउने कार्यलाई निरन्तरता दिइएको छ।

नगरपालिकाले भवन निर्माण पूरा भएसँगै आगामी वर्षभित्र सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गर्ने लक्ष्य राखेको छ। पालुङटार नगरपालिकाका मेयर विवश चिन्तनले सङ्ग्रहालयलाई नगरको सांस्कृतिक सम्पदा संरक्षणको महत्वपूर्ण परियोजनाका रूपमा उल्लेख गर्दै आवश्यक स्रोत जुटाएर कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय कुमाल समुदायका अनुसार, सङ्ग्रहालयमा दैनिक रूपमा प्रयोग हुने घैटो, कोल, ढिकी, जाँतो लगायतका सामग्री प्रदर्शनका लागि राख्ने योजना छ। यस्ता सामग्री आधुनिकतासँगै हराउँदै गएका कारण तिनको संरक्षण अपरिहार्य भएको समुदायको भनाइ छ।

सङ्ग्रहालय सञ्चालनमा आएपछि यसले स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान दिने अपेक्षा गरिएको छ। कुमाल समुदायको कला, संस्कृति र जीवनशैलीको समुचित संरक्षण तथा प्रवर्द्धनमा यो सङ्ग्रहालय महत्वपूर्ण आधार बन्ने विश्वास लिइएको छ।