काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह आमा एवं पूर्व-वडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक अस्पताल पुगेका छन्। पूर्वी तराई भ्रमणमा रहेका शाह आमा बिरामी थाहा पाएपछि भ्रमण छोट्याएर राजधानी फर्किएका हुन्।
उनले मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि नर्भिकमा भर्ना भएकी रत्नको स्वास्थ्यावस्था बारे अस्पताल पुगेर जानकारी लिएका थिए। ९१ वर्षीया रत्नलाई मंगलबार बेलुका पातलो दिसा हुने र पिसाव कम हुने समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो। मुमा रत्नलाई अस्पतालका चिकित्सक डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा मृगेन्द्रराज पाण्डे, डा मधु घिमिरे र डा ब्रजेन्द्र श्रीबास्तवको टोलीले उपचार गरिरहेको छ। अहिले उनको स्वास्थ्य सुधारोन्मुख भएको र अहिले संक्रमण नियन्त्रण भएको अस्पतालले जनाएको छ। राजा महेन्द्रकालिन राजनीतिका सिमित साक्षी मध्ये रत्न पनि एक हुन् ।








































