इटहरी । नेपाली फिल्मकी कलाकार एवम् निर्मात्री प्रज्ञा जोशी पक्राउ परेकी छिन् । प्रहरीले उनलाई इटहरीबाट पक्राउ गरेको हो ।
जोशीले जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा इटहरी प्रहरीले पक्राउ गरेको जनाएको छ । लामो समयदेखि इटहरीमा लुकिछिपी बस्दै आएकी जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

सुवर्णकुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा दिएको उजुरीका आधारमा कलाकार जोशीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाइँले बताएका छन् ।
इन्स्पेक्टर चौलागाइँले जोशीको नाममा पक्राउ पुर्जी जारी भएको कारण इटहरीबाट पक्राउ गरी काठमाडौं लगिने बताए ।
कलाकार जोशीले ५० लाखभन्दा बढी बाउन्स चेक दिएर ठगी गरेको आरोप छ । जोशी बारम्बार आर्थिक विवादमा पर्दै आएकी छिन् ।






































