काठमाडौं– बुधबार काठमाडौंको गोठाटारबाट बालक अपहरणमा परेको भन्ने सूचना गलत भएको प्रहरीले निष्कर्ष निकालेको छ।
बुधबार दिउँसो २ बजे प्रहरीको १०० नम्बरमा फोन गरेर गोठाटारबाट बालक अपहरणमा परेको भन्ने खबर आएको थियो। लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत नयाँ बानेश्वरबाट ठूलो मात्रामा प्रहरी टोली बालकको खोजीमा निस्किएको थियो।
स्थानीयले तीन जनाको समूहमा आएका व्यक्तिले जबरजस्ती खैरो रङको गाडीमा हालेर बौद्धतर्फ लगेको बताएका थिए। प्रहरीले बालक अपहरणमा परको खबर आएकाले उद्धारका लागि खटिइसकेको सूचना सञ्चारमाध्यमलाई दिएको थियो। तर दिनभर खोज्दा पनि प्रहरीले बालक फेला पार्न सकेन।
बालक अपहरणमा परको भए रातिसम्म खबर आउन सक्ने प्रहरीले विश्वास गरेको थियो। ‘बालक हराएको भए राति पक्कै सूचना आउनेमा हामी ढुक्क थियौं। राति पनि सूचना नआएकाले बालक अपहरणमा नपरेको र आफन्तले नै उठाएर गाडीमा हालेर लगेको हुन सक्ने हाम्रो निष्कर्ष हो,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीले भने।
गाडीमा जबरजस्ती हालिनएको र त्यसबेला चिच्याउँदै बालक रोएको सुनेर स्थानीयले अपहरण भएको भन्दै प्रहरीलाई खबर गरेका थिए।







































