हेटौँडा । बागमती प्रदेश सभाले हालसम्म ९० वटा विधेयक पारित गरे पनि तीमध्ये ८९ वटा मात्र प्रदेश राजपत्रमा प्रकाशित भएका छन् । एक विधेयक भने प्रमाणीकरण नहुँदा अझै कार्यान्वयनमा आउन सकेको छैन ।
प्रदेश चिट्ठा विधेयक प्रदेश सभाबाट पारित भइसके पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण नभएकाले पुनः संसद्मा विचाराधीन अवस्थामा रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
हाल प्रदेश सभामा तीन वटा विधेयक सभा, विषयगत समिति तथा सचिवालयमा विचाराधीन अवस्थामा रहेका छन् । बुधबार प्रदेश सभाको आठौँ वार्षिकोत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमा सभामुख अप्सरा चापागाईँले प्रदेश सभा स्थापना भएदेखि हालसम्मको संक्षिप्त प्रगति विवरण सार्वजनिक गर्नुभएको हो ।
सभामुख चापागाईँका अनुसार पाँचौँ अधिवेशनमा छ वटा बैठक सञ्चालन हुँदा ९ घण्टा २५ मिनेट समय खर्च भएको थियो । त्यसैगरी छैटौँ अधिवेशनमा २४ वटा बैठक बसेका थिए, जसमा ३९ घण्टा २१ मिनेट समय खर्च भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रदेश सभा सचिवालयले कानुन निर्माण, कार्यान्वयन तथा जनअपेक्षासम्बन्धी विषयमा स्थानीय तहसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । साथै, विषयगत समितिका सदस्यहरूलाई विधेयक मसौदा तयारी तथा प्रतिवेदन लेखनसम्बन्धी तालिम, प्रदेश निजामती ऐन, २०७९ को उत्तर–विधायिकी प्रशिक्षण तथा सरोकारवालासँग छलफल कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
प्रदेश सभा भ्रमणमा आउने आगन्तुकलाई नियमित रूपमा प्रदेश सभासम्बन्धी जानकारी प्रदान गरिँदै आएको सचिवालयको भनाइ छ ।
जेन–जी प्रदर्शनपछि क्षति पुगेका संरचनाको मर्मत तथा सुधारात्मक कार्य अन्तर्गत हेटौँडा उपमहानगरपालिकाको परिसरमा निर्माण गरिएको हलमा अस्थायी रूपमा प्रदेश सभा सञ्चालनको तयारी गरिएको छ । सचिवालयको दैनिक कार्य सञ्चालन तथा विषयगत समितिको बैठक व्यवस्थापनका लागि आवश्यक व्यवस्था मिलाइएको जनाइएको छ ।
प्रदेश सभाको आठौँ वार्षिकोत्सवका अवसरमा प्रदेश सभा दर्पण प्रकाशन, रक्तदान कार्यक्रम तथा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ ।
हाल प्रदेश सभामा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ ४४ गरी कुल ११० जना सदस्य निर्वाचित भएका थिए । तर, प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिनका लागि गत माघ ५ गते छ जना प्रदेश सभा सदस्यले राजीनामा दिएपछि हाल प्रदेश सभामा १०४ जना सांसद कायम रहेका छन् ।
राजीनामा दिनेमा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले, नेकपा एमालेका प्रकाश श्रेष्ठ र अमनकुमार मास्के, तत्कालीन नेकपा एकीकृत समाजवादी (हाल नेकपा) का वसन्त मानन्धर, राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसी तथा तत्कालीन नेकपा माओवादी केन्द्र (हाल नेकपा) का युवराज दुलाल रहेका छन् ।








































