बाग्मती करिडोर सुन्दरीकरणका लागि ढल व्यवस्थापनमा जोड : मन्त्री घिसिङ

0

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले बाग्मती करिडोरलाई आकर्षक र बसोबासयोग्य क्षेत्रका रूपमा विकास गर्न ढल व्यवस्थापनलाई प्राथमिकता दिने बताएका छन्।

आज बिहान बाग्मती करिडोरअन्तर्गत गुह्येश्वरी–गोकर्ण खण्डमा पर्ने गोकर्णेश्वर नगरपालिका–५ जम्बुडाँडा क्षेत्रको स्थलगत निरीक्षणपछि मन्त्री घिसिङले करिडोर क्षेत्रमा ढलको उचित व्यवस्थापन, सडक स्तरोन्नति र नियमित सरसफाइ अनिवार्य रहेको बताए।

“नदी सफा भए मात्रै शहर सफा हुन्छ,” उनले भने, “बाग्मतीलाई स्वच्छ बनाउने लक्ष्यसहित ढल व्यवस्थापन, करिडोर सडक मर्मत र नदीमा फालिएको फोहोर प्राथमिकताका साथ हटाइन्छ।”

उनका अनुसार नदीभरि जमेको फोहोर हटाई चेक बाँध सञ्चालन, साना ताल निर्माण जस्ता संरचनात्मक सुधारमार्फत बाग्मती करिडोरलाई पर्यटनका लागि पनि आकर्षक क्षेत्रका रूपमा विकास गर्ने काम अघि बढाइँदै छ।

मन्त्री घिसिङको निजी सचिवालयका अनुसार बाग्मती करिडोर विकासलाई दिगो र प्रभावकारी बनाउन सम्बन्धित निकायहरूबीच समन्वय तीव्र बनाइएको छ।