बिम्स्टेक सफल भएको देउवाको दाबी

269

चितवन, नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलन सफलतापूर्वक सम्पन्न भएको बताउनुभएको छ ।

उहाँले भर्खरै नेपालमा सम्पन्न उक्त सम्मेलनलाई सफलरूपमा लिनुपर्ने र यसले एक आपसमा सद्भाव बढाउनेमा जोड दिनुभयो ।

बिम्स्टेकका कारण सार्कको महत्व नघटेको चर्चागर्दै उहाँले सार्कको पनि आफ्नै महत्व रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका देउवाले संयुक्त सैन्य अभ्यास सहमतिबमोजिम गरिनुपर्ने बताउनुभयो ।

चिकित्सक सङ्घका जायज माग पूरा गर्नुपर्ने बताउनुभएका उहाँले मुलुकी संहितालाई जनचाहनानुसार परिवर्तन गर्न सकिने जानकारी दिनुभयो, “संविधान होस् या संहिता जनचाहनानुसार सुधार गर्न सकिन्छ । सबै मिलेर सुधार गर्दै जानुपर्छ,” सभापति देउवाले भन्नुभयो ।
प्रेस स्वतन्त्रतामाथि कुनै अङ्कुश लगाउन नहुनेमा जोड दिँदै उहाँले भन्नुभयो, “प्रेस पूर्णरुपमा स्वतन्त्र हुनुपर्छ भन्ने मान्यता हो र हुन्छ पनि ।” सरकारलाई जनभावना बुझेर काम गर्न सुझाव दिनुभएका सभापति देउवाले मुलुकभर महिला हिंसाका घटना बढ्नु, दोषीलाई कारवाही गर्न नसक्नु र कञ्चनपुरमा बालिकामाथि बलात्कारपछिको हत्या घटनाका दोषी पत्ता लगाउन नसक्नु सरकरको कमजोरी हो भन्नुभयो ।अवैज्ञानिक ढङ्गले बढाइएका करका कारण जनता सताइएकाले त्यस्ता कर घटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।