Home समाचार बिस्केट जात्रामा किन हुन्छ ढुंगामुढा ? यी हुन् रोचक प्रसंग
भक्तपुर । भक्तपुरको सबैभन्दा लामो बिस्काः जात्रा चैत्र २७ देखि सुरु हुँदै छ । आठ दिन नौ रातसम्म मनाइने बिस्काः भक्तपुरको लामो र मुख्य जात्रा हो । स्थानीय भाषामा बिस्का भनिने यो जात्रालाई अहिले बिस्केट भनेर चिनिदै आएको छ ।
भक्तपुर नगरको केन्द्रमा अवस्थित पाँचतले र भैरवनाथको मन्दिर प्रांगणमा निर्माण गरिएको तीन तले प्यागोडा शैलीको भैरवनाथको रथ तानेर बिस्का जात्रा सुरुवात हुन्छ । यस दिनलाई स्थानीय भाषामा द्य क्वहाँबिज्याइगु (देवता तल सवारी हुने) भनिन्छ ।
तर भक्तपुरमा बिस्का जात्रा सुरु नहुँदै यस जात्राको क्रममा हुने ढुंगामुढा एवं झैझगडाले प्राथमिकता पाउँदै आएको छ । ढुंगामुढासँगै जात्राको क्रममा सर्वसाधारणको ज्यान समेत जाने भएकाले जात्रा सुरु नहुँदै प्रहरी प्रशासनको टाउको दुःखाई सुरु हुन्छ । जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्नकै लागि प्रहरी प्रशासन महिनदिनअघि देखि विभिन्न तयारी गर्दै आएका छन् ।
तर बिस्का जात्राको विगत हेर्दा प्रहरी प्रशासनले यसरी महिनादिन अघिदेखि गर्ने प्रयास असफल हुँदै आएको छ । तैपनि प्रहरी प्रशासनले आफ्नो प्रयास छोडेको छैन ।
भक्तपुर नगरपालिकाले समेत महिनादिन अघिदेखि जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न विभिन्न तयारीहरू गरेको छ । स्थानीय तह निर्वाचन भएर अघिल्लो बर्ष देखि जनप्रतिनिधिहरू पनि आएका छन् । जसले जात्रा शान्ति पूर्ण बनाउन हर मजदुर प्रयास गर्दै आएका छन् ।
प्रहरी, प्रशासन र नगरपालिकाले यस वर्षको जात्रामा ढुंगामुढा हुन नदिने संयुक्त प्रयास थालेका छन् तर के कारणले जात्रामा ढुंगामुढा हुन्छ ? कसैसँग जवाफ छैन । किन झगडा हुन्छ भन्ने विषयमा स्थानीय बुढा पाकाहरु सँग कुरा गर्दा उनीहरु भन्छन् ।
दुईतिर रथ तान्दा पनि झगडा !
सबैको बुझाई भैरवनाथको रथ तलमाथि (थने–क्वने) गरी दुई समूहमा बाँडेर तान्ने गरेकाले आफूतिर रथ तान्न सक्ने समूहले ढुंगामुढा गर्ने भन्ने बुझाइ रहँदै आएको छ । त्यसैले दुईतिर रथ नतानी एकपटकमा एकतिरमात्रै रथ तान्नुपर्ने आवाज पनि नसुनिएको होइन । तर झगडामा यथार्थ यस्तो पनि होइन ।
रिस साँध्ने क्रममा ढुंगामुढा
प्रहरी प्रशासन र नगरपालिकाबाट पीडितहरुले बिस्का जात्रालाई आफ्नो रिस साँध्ने माध्यम बनाउने क्रममा ढुंगामुढा हुने गरेको बताउनेहरू पनि कम छैनन् । प्रहरी एवं ट्राफिक प्रहरीबाट पीडितहरूले बिस्का जात्राकै क्रममा आफ्नो रिस पोख्ने सर्वसाधारणको भनाइ छ । त्यस्तै नगरपालिकामा नक्सापास गर्न जाँदा अलमल गरिँदा, वडामा कुनै सिफारिस लिन जाँदा ढिलाइ गर्दा पनि त्यसको रिस बिस्का जात्रामा पोख्ने गरिने बताउनेहरू धेरै छन्। तर वास्तविकता योमात्रै सिमित भने नरहेको छ ।
मापसेको लफडा
मादकपदार्थ सेवन गरेर जात्रामा सहभागी हुने कारण पनि ढुंगामुढा हुने बताउनेहरूको संख्या कम छैन । प्रहरी प्रशासनको बुझाइ पनि यही छ । जात्रामा नेपालभाषीहरु(नेवार)ले भोज खाने एवं संस्कृति मान्ने क्रममा बढी जाँडरक्सी खाने हुनाले सामान्य विवादकै बीचमा ढुंगामुढा हुने गरेको प्रहरीको भनाइ रहँदै आएको छ । त्यसैले प्रहरी प्रशासनले जात्रा हुने क्षेत्रमा मादक पदार्थ बिक्री वितरणमा बन्देज लगाउँदै आएको छ । तैपनि मापसे नगरी जात्रामा सहभागी हुने हातमा गन्ने संख्यासम्म पाउन सकिन्न । किनकी यो जोशको जात्रा हो तीन तल्ले रथ तान्न ताकतको नै कुरा हुन्छ अनी परम्परामा जात्रा एवं भोज भने पनि जाँडरक्सी अनिवार्य नै जस्तो पनि रहेको छ ।
कमजोर व्यवस्थापनले हुन्छ ढुंगामुढा
बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तानेर सम्बन्धित ठाउँमा र्पुयाउनु हो । अजंगको रथका चारवटा ठूला काठकै पाग्रा छन् । जुन केही दर्जन मान्छेको बलले हलचल गर्न हम्मे हम्मे हुन्छ । सयौं मान्छेले एकैबाजी एकै बलमा तानेमात्रै रथलाई गुडाउन सकिन्छ । फेरि साधारण बलले रथ तान्न सम्भव छैन । जति तान्दा पनि रथ टसमस नहुने र रथमा दर्जनौं अनधिकृत व्यक्ति चढ्ने भएकै कारण ढुंगामुढा हुने संस्कृतिकर्मी प्रा.डा पुरुषोत्तम लोचन श्रेष्ठ दावी गर्छन् । ‘रथमा अनधिकृत मान्छे बसेपछि रथ तान्नेहरूलाई रिस उठ्छ’, ‘उनीहरूलाई रथबाट झार्न अगाडि जे भेटिन्छ त्यसैले हान्ने गरिएको इतिहाँस हामी सँग छ । यसरी हानिएको वस्तुबाटै ढुंगामुढाजस्तो ठूलो घटनामा परिणत भएका कयौं घटना रहेको उनी सुनाउँछन् ।’
त्यसैले रथमा अनधिकृत व्यक्तिलाई चढ्न रोक्दै समयमै जात्रा सुरु गरि समयमा नै सकाइए शान्तिपूर्ण हुने उनको सुझाउँछन् ।
त्यस्तै रथ तान्न प्रयोग गरिने डोरी चुँडिँदा पनि जात्रालुले आक्रोश व्यक्त गर्ने क्रममा हुने घटना ढुंगामुढासम्म पुग्ने स्थानीय बताउँछन्।
‘अहिलेसम्मको ढुंगामुढाको विगत यही हो । ढुंगामुडाको विगत केलाउने हो भने गुठी संस्थानले ठेकेदारमार्फत कमसल डोरी ल्याउँन्छ । जुन डोरी रथ तान्ने क्रममा पटकपटक चुँडिन्छ’, स्थानीय राकेश श्रेष्ठ भन्छन्, ‘डोरी चुडिँदा जात्रालु लड्छन, घाइते हुन्छन्। त्यसको रिस ढुंगामुढासम्म पुग्ने गरेको छ ।’
त्यसैले जात्रा व्यवस्थापनमा कमजोरी हुने गरेकाले ढुंगामुढा र झैझगडा हुने गरेको स्थानीयको भनाइ रहेको छ।
ढुंगामुढा जात्राको अभिन्न अंग !
ढुंगामुढाको कारण भक्तपुरको बिस्का जात्रा बद्नाम हुन थालेको धेरैको भनाइ रहेको छ । ढुंगामुढा हुने कारण बिस्का जात्रा हेर्न जोकोही आउन डराउने बताइन्छ तर यथार्थ यसको उल्टो छ । पछिल्लो समयमा बिस्का जात्रा हेर्न आउनेहरुको संख्या बढेको बढ्यै छ । बिस्का जात्राका क्रममा भैरवनाथको रथ गुड्ने ठाउँमा पाइला टेक्ने ठाउँ हुँदैन । त्यसैले पछिल्लो समय रथले किचेर जात्रालु घाइते हुने र मर्ने क्रमसमेत बढेको छ ।
साथै अहिले धेरैलाई ढुंगामुढा भएन भने बिस्का जात्रा मनाएको जस्तो नहुने गरेको स्थानीय बताउँछन् । बिस्का जात्रा सकेर घरमा कोही फर्कंदा सबैको एउटै प्रश्न हुन्छ, ‘यसपालि ढुंगामुढा भएन ? इँटा हानाहान भएन ?’
त्यस्तै बिस्का जात्राका क्रममा ढुंगामुढा भएन र झैझगडा भएन भने कतिपय युवाहरुसमेत यस वर्ष बिस्का जात्रा खल्लो भयो भन्छन् । शान्तिपूर्ण रुपमा बिस्का जात्रा सम्पन्न हुँदा युवाहरुलाई समस्या हुन थालेको छ । उनीहरुका अनुसार बिस्का जात्रामा ढुंगामुढा भएन भने मज्जै आउँदैन । प्रहरीसँग ढुंगामुढा गरी लुकामारी खेल्नुको मज्जा बिस्का जात्राबाहेक अरु बेला नपाइने उनीहरू सगर्व बताउँछन् ।
त्यसैले बिस्का जात्राको पर्याय ढुंगामुढा हुन थालेको यसबाट प्रस्ट हुन्छ । यी सबैलाई ध्यान दिन सकिए बिस्का जात्रामा हुने ढुंगामुढा तथा झैझगडा अन्त्य गर्न सकिने भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेले दावी गर्छन् ।
ढुंगामुढा गर्नेलाई प्रशासनले नछाड्ने
भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बिस्का जात्राको क्रममा ढुंगामुढा गर्ने तथा मादक पदार्थ सेवन गरी झैझगडा गर्नेलाई कानुनी कारबाही गरेरै छाड्ने बताएका छन् ।
उनले बिस्का जात्राका क्रममा हुनसक्ने ढुंगामुढा र झैझगडा गर्नेहरूको पहिचानको लागि ठाउँठाउँमा सीसीटीभी क्यामरा जडान गरिएको जानकारी दिए ।
‘जात्राकै क्रममा नियन्त्रणमा लिन नसकिए पनि सीसीटीभी क्यामराको फुटेजको आधारमा ढुंगामुढा गर्नेलाई जहिले पनि नियन्त्रणमा लिएर कारबाही गर्छौँ’, प्रजिअ भट्टले भने, ‘बिस्का जात्रामा ढुंगामुढा गरेर भक्तपुरको बद्नाम गर्नेहरुलाई पानीमुनि गएर भए पनि पक्राउ गरेर कारबाही गरेरै छाड्छौं।’
उनले बिस्का जात्रा शान्तिपूर्ण र व्यवस्थित गर्न सुरक्षाको सम्पूर्ण प्रबन्ध मिलाइसकेको जानकारी दिए ।
यता नगर प्रमुख सुनिल प्रजापतिले विस्का जात्रा शान्ति पूर्ण बनाउन आग्रह गरेका छन् । उनी भन्छन् विस्का जात्रा शान्तिपूर्ण बनाउन सके देशको नै प्रतिष्ठा बढछ यसैले जात्रा शान्तिपूण गर्न नगरबासीलाई आग्रह समेत गरेका छन् । जात्रा समयमै सञ्चालन गरी समयमै सम्पन्न गर्न सके सम्भावित दुर्घटनाहरुमा कमी आउने उनी बताउँछन् । जात्रामा युवाहरुको उल्लेख्य सहभागिता रहने हुँदा जनचेतना ¥याली तथा कार्यक्रम सञ्चालन गर्ने, भार्वाचोदेखि दत्तात्रयसम्म नगरका ठाउँ ठाउँमा सी.सी. टिभी क्यामेरा जडान गर्ने, विभिन्न सञ्चारमाध्यममार्फत सूचनाहरु प्रभावकारी रुपमा प्रकाशन र प्रसारण गर्ने काम भई रहेको जानकारी दिए ।
यस्तै महानगरिय प्रहरी परिषर भक्तपुरका प्रमुख हिमालय कुमार श्रेष्ठ जात्रा चुनौतीको रुपमा भन्दा पनि भक्तपुर चिनाउने अवसरको रुपमा भएको बताउँदै जात्रा शान्तिपूर्ण बनाउन सके विश्व सामु नै भक्तपुरको परिचय अझ राम्रो हुने र जात्रा हेर्न आउने पर्यटकमा पनि बृद्दि हुने बताउँछन् । उनका अनुसार जात्रा शान्तिपूर्ण बनाउन नगरपालिकाको सहयोगमा जात्रा स्थलमा ४२ वटा सिसिक्यामेरा जडान गरिएको छ साथै स्थानीय पसल होटल अनी विभिन्न सहकारी संस्था अनी कार्यालयका सिसिटिभीको पनि मद्दत लिइने भएकाले जात्रा स्थलभर सय भन्दा बढि सिसिक्यामेराको ब्यवस्था गरिएको उनी बताउँछन् ।
जात्रामा ढुंगा मुडाको परम्परा भने २०२४ साल देखि सुरु भएको भन्ने पनि चलन रहेको छ तर यो भन्दा पहिला पनि जात्रामा झगडा हुने भने गरेको स्थानीय बताउँछन् । पञ्चायत आएपछि त्यसको दमनको रिस प्रहरी र प्रशासन सँग साँध्न ढुँगा मुडा सुरु भएको भन्नेहरु पनि यहाँ रहेका छन् ।
Related