भक्तपुर बारद्वारा मेलमिलाप सम्बन्धी पाँच दिने एडभान्स तालिम सुरु

40

भक्तपुर।
भक्तपुर बार एसोसिएसन, तालिम आयोजना तथा व्यवस्थापन समितिको आयोजनामा पाँच दिने मेलमिलाप सम्बन्धी एडभान्स तालिम शुक्रबारदेखि सुरु भएको छ ।

भक्तपुर जिल्ला अदालतको सभा हलमा आयोजित तालिमको उद्घाटन न्याय परिषद्का सदस्य माननीय दामोदर खड्काले पानसमा दियो बालेर गर्नुभयो । कार्यक्रममा नेपाल कानुन आयोगका अध्यक्ष एवं भक्तपुर बारका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता बाबु राजा जोशी, भक्तपुर जिल्ला अदालतका न्यायाधीश नारायण पौडेल, नेपाल बार एसोसिएसन तथा भक्तपुर बारका पूर्व सचिव किरण न्यौपाने र भक्तपुर बार एसोसिएसनका अध्यक्ष राम सुन्दर खाइतु लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो ।

भक्तपुर बार एसोसिएसनका उपाध्यक्ष प्रिय कुमार थापाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा पूर्व अध्यक्षहरू वरिष्ठ अधिवक्ता हरि राउत, विवेक राज ढुङ्गेल, महेश श्रेष्ठ, शशी चन्द्र मिश्र, गजेन्द्र शंकर तिमिला, कमल राज थापा, देवेन्द्र थापा श्रेष्ठ र निवर्तमान अध्यक्ष रवीन्द्र प्रधानज्यूसमेतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन समितिका सदस्य सचिव विक्रम बखुन्छेले गर्नुभएको थियो ।

पाँच दिनसम्म सञ्चालन हुने उक्त तालिममा २७ जना प्रशिक्षार्थी सहभागी रहेका छन् । मेडिएसन नेपाल संस्थाले तालिम दिनेछ भने मुख्य प्रशिक्षकको जिम्मेवारी सन्तोष राना मगरले वहन गर्नुहुनेछ ।

कार्यक्रमका सभापति तथा तालिम आयोजना तथा व्यवस्थापन समितिका संयोजक अनिश सुवालले तालिमका क्रममा सहभागीहरूले मेलमिलाप प्रक्रिया र व्यवहारिक सीपलाई अझ प्राविधिक रूपमा सिक्ने अवसर पाउने जानकारी दिनुभयो ।

उक्त तालिम आगामी भदौ २० गते सम्पन्न हुने आयोजक समितिले जनाएको छ ।