भक्तपुर। नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर क्षेत्र नम्बर १ बाट अधिवक्ता किरण न्यौपानेलाई उम्मेदवार बनाएको छ।
नेपाल बार एसोसिएसनका केन्द्रीय सदस्यसमेत रहेका न्यौपाने यसपटकको निर्वाचनमा कांग्रेसको तर्फबाट प्रतिस्पर्धामा उत्रिन लागेका हुन्। भक्तपुर–१ लाई लामो समयदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को गढका रूपमा हेरिँदै आएको छ। प्रजातन्त्र पुनःस्थापनापछि हालसम्म भएका निर्वाचनहरूमा यो क्षेत्रबाट नेमकिपाकै उम्मेदवार विजयी हुँदै आएका छन्।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा पनि यसै क्षेत्रबाट नेमकिपाका प्रेम सुवाल निर्वाचित भएका थिए। तर यसपटक नेमकिपाले भने अहिलेसम्म आफ्नो उम्मेदवार सार्वजनिक गरिसकेको छैन।
कांग्रेसका तर्फबाट अधिवक्ता किरण न्यौपाने उम्मेदवार बनेसँगै भक्तपुर–१ को चुनावी प्रतिस्पर्धा चासोको विषय बनेको छ।








































