भक्तपुरको अधिकांश खानेपानी पिउन अयोग्यो ,देखियो कोलिफर्म ‘महामारीको डर’

2070

भक्तपुर । भक्तपुरबासीले पिउँदै आएको सबैजसो खानेपानी प्रदूषित पाइएको छ । भक्तपुरका अधिकाँस खानेपानीको मुलमा नै कोलिफर्मका जिवाणु भेटिएका कारण भक्तपुरको खानेपानी असुरक्षित रहेको तथा महामारीको डर रहेको जिल्ला जनस्वास्थ्यले जनाएको छ ।
पानी प्रदूषित भएकै कारण भक्तपुरमा पानीजन्य रोगको महामारी फैलिने जोखिम बढेको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लामा सबैभन्दा बढी प्रयोग हुने १८ वटा मूलको पानी परीक्षण गर्दा १६ मा कोलिफर्म भेटिएको हो ।

कार्यालय प्रमुख कृष्णबहादुर चन्दले १८ वटामध्ये सूर्य्विनायक नगरपालिका–६ कटुञ्जेस्थित तीनधारा र चाँगुनारायण नपा–६ नगरकोटस्थित हेल्थपोस्ट मूलको पानीमात्रै खानयोग्य रहेको जानकारी दिए । ‘जिल्लावासीले खाने प्रमुख १८ वटा मूलको पानी परीक्षण गर्दा १६ वटा मूलको पानी प्रदूषित पाइयो’, उनले भने, ‘मूलकै पानीमा कोलिफर्म देखिएको हो । दुइटा मूलको पानीमात्रै खानयोग्य देखियो ।’

वर्षायाम सुरु भएसँगै विभिन्न सरुवारोगको महामारी फैलिनसक्ने भएकाले खानेपानीको अवस्था बुझ्न कार्यालयले उक्त परीक्षण गरेको उनको जानकारी थियो । भक्तपुरभरकै पानी प्रदूषित देखिएकाले उमालेर वा शुद्धीकरण गरेर पानी खान आग्रह गर्दै आएको कार्यालय प्रमुख चन्दले जानकारी दिए ।

उनका अनुसार भक्तपुर नगर र मध्यपुर थिमी नगरका वासिन्दाले खानेपानी प्रयोग गर्ने खान नगरकोटस्थित मुहानपोखरी र बोडको पानीसमेत प्रदूषित रहेका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडअन्तर्गत रहेका यी दुवै मूल पानी शुद्धीकरण गर्ने फिल्टर प्लान्टबिहीन छन् । बोडेस्थित फिल्टर प्लान्ट बिग्रिएको दसौं वर्ष हुँदा पनि मर्मत हुन सकेको छैन ।

नगरकोटस्थित मुहानपोखरीमा भने फिल्टर प्लान्ट नै छैन । जसले गर्दा भक्तपुर–नगरकोट सडक विस्तारले गर्दा वर्षा याममा धमिलो पानी खान भक्तपुर नगरवासी बाध्य हुँदै आएका छन् । भक्तपुरमा वर्षासँगै महामारीजन्य रोग फैलिनसक्ने जोखिम बढेपछि त्यसको न्यूनीकरणसम्बन्धमा बुधबार बहुपक्षीय समन्वय बैठक गरेको छ ।

बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चन्दले विपद्सँगै स्वास्थ्यको क्षेत्रमा आउनसक्ने महामारी रोक्न कार्यालयमा मेडिकल अफिसरसहितको विपद् प्रतिकार्य टोली तयारी अवस्थामा राखिएको जानकारी दिए । त्यस्तै भक्तपुरका चार नपामा समेत नगरस्तरीय विपद् प्रतिकार्य टोली गठन गरी अति आवश्यकीय औषधिहरुको आवश्यक भण्डारण गरिएको उनको भनाइ थियो ।

‘स्थानीय तहमा अधिकार गइसकेकाले नगरपालिकालाई पनि विपद् प्रतिकार्यको क्षेत्रमा सहयोग गर्न आग्रह गरेका छौं’, प्रमुख चन्दले भने, ‘अघिल्लो वर्षको आधारमा भक्तपुर वर्षायाममा कुनै महामारी देखिएको छैन । तैपनि हामी तयारी अवस्थामा छौं ।’

भक्तपुरलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिसकिएको छ । दिसामा पाइने जीवाणु खानेपानीमा देखिएकोले खुला दिसामुक्त प्रभावकारी नभएको गुनासो गरिएको छ ।