भक्तपुरमा ध्यासी अर्थात भुत पन्छाउँदै तामाङ समुदाय

735

भक्तपुर । हाम्रो परम्परामा भुत भने पछि जो कोही पनि डराउन सोभाविकै हो । यस्तै तामाङ समुदायको नयाँ बर्ष सोनम ल्होछार २८५५ नजिकिए सँगै उनीहरु पुरानो वर्षमा दुःख दिएका भुतहरु पन्छाउन विभिन्न अनुष्ठान आयोजना गर्न थालेका छन् ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्वर ७ स्थित उर्गेन साङ्गे छयोलीङ्ग तामाङ गुम्वामा ह्याङला आदिवासी तामाङ समाजको आयोजनामा सामुहिक रुपमा भुत भगाउने अनुष्ठान अर्थात ध्यासी आयोजना गरिएको समाजका अध्यक्ष कर्मा लोप्साङ वाईबाले जानकारी दिनुभयो ।
उहाँका अनुसार हाम्रो परम्परा अनुसार विभिन्न समयमा विभिन्न किसिमबाट भुत प्रेत आदिले दुःख दिने गरेको र यसलाई भगाउन तामाङहरुले आफ्नो घर घरमा पनि यो अनुष्ठान अयोजना गर्ने गरेको भएपनि हामीले भने संयुक्त रुपमा निर्माणधिन गुम्वामा नै सवै जुटेर भाईचाराका साथ ध्यासीको आयोजना गरेको जानकारी दिनुभयो ।


तीन दिन सम्म विभिन्न लामा गुरुहरुले पाठ गरि आयोजना गरिने उक्त पुजामा पहिलो दिन भगवान गौतम वुद्दको दाहिने हात सहितको मण्डला बनाई जग्गेको स्थापना गर्ने कार्य गरिने लामा गुरु ज्याम्याङ योल्मोपाले जानकारी दिनुभयो । उहाँका अनुसार पुजाको त्रिपिटकको सार पारामिति( बुम १२ ठेली)को पाठ गरि हाम्रो जीवनमा भएका आएका भुत प्रेतहरुलाई ध्यासी पुजा अर्थात (४०० पुजा) गरि पन्छाउने परम्परा अनुसार आफूहरुले उक्त पुजाको अनुष्ठान गरेको बताउनुभयो । वर्ष दिनमा लागेको रोग ब्यादी दशा ग्रह शान्तीका लागि हाम्रा जीवनमा दुःख दिने ४ मार देव पुत्र मार , मृत्यु मार , स्कन्द मार र क्लेस मारलाई पन्छाउन प्रत्यक वर्ष नयाँ वर्ष ल्होछार अगाडी यस्ता अनुष्ठान गरिने लामा गुरुले जानकारी दिनुभयो ।
हाम्रा जीवनमा पिरोल्ने ४ मारले नयाँ आउने वर्षमा दुःख कस्ट भय रोग एवं ब्याध नल्यावस सुख शान्ती एवं दिर्गायुको लागि पाठ पुजा गरि बनाईएका भुतका प्रतिमा खोला वा नजिकको दोवाटोमा पन्छाउने काम गरिन्छ ।
भगवान गौतम वुद्दको दाहिने हातको प्रतिमामा स्वरुप निर्माण गरिएको मण्डपमा हाम्रो शरिरको प्रतिक एक सय ङार्ली बत्ती (छ्यामी) एक सय, नहिवेद(स्याल्से) एक सय र स्तुपा (छाछा) एक सय गरि मण्डला बनाई भुतलाई उक्त स्थानमा बोलाई पुजा गरि उनीहरुलाई अव मनुस्यको जीवनमा दुःख कस्ट दिन फेरी नआउ है भनी बन्धनमा परि दोबाटो वा खोलामा लगेर सेलाउने गरिन्छ ।
तामाङ परम्परा अनुसार दुःख दिने विभिन्न तत्वबाट छुट्कारा पाउन तथा सुख समृद्दि हाँसिल गर्दै शान्तिका साथ जीवनयापन गर्न हरेक प्राणिले पावस् भनी यो अनुष्ठान आयोजना गरिने गरेको संस्थाका सह सचिब नरेस वाईबाले जानकारी दिनुभयो ।
उहाँका अनुसा संसारमा हुने भनेका महिला अनी पुरुष हुन् उनीहरुको प्रतिमा वनाई अव देखि यि दुई जातिलाई दुःख नदिने सर्तमा भुतलाई खोलामा विर्सजन गर्ने काम सम्पन्न गरिएको उहाँले जानकारी दिनुभयो ।
करिव साठी जना लामा गुरुहरुले उक्त अनुष्ठानमा पुजा गर्नुभएको थियो भने सयौंका संख्यामा भुत मन्छन् भक्तजनहरुको सहभागित रहेको थियो ।