मन्त्री पोखरेल र जापानी राजदूतबिच भेटवार्ता

383

काठमाण्डौं ।
शिक्षा, विज्ञान तथा प्रविधीमन्त्री गिरिराजमणि पोखरेल र नेपालका लागि जापानी राजदूत मासासी ओगावाबिच बुधबार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री पोखरेलले सबैं स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र उच्च शिक्षाको विकासको लागि जापान सरकारको सहयोगको अपेक्षा गरेको बताए ।
शिक्षा क्षेत्रमा प्रत्यक्ष तथा परोक्ष रुपमा जापान सरकारबाट प्राप्त सहयोगले विद्यालय शिक्षा देखि उच्च शिक्षा सम्मको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेको बताउँदैं पोखरेलले जापान सरकारबाट प्राप्त सहयोगले नेपालको बहुआयामिक विकासमा उल्लेखनीय योगदान पुगेको भन्दैं नेपाल सरकारको तर्फवाट धन्यवाद दिए ।
भेटमा राजदूत ओगावाले नेपालको संघियता कार्यान्वयन र नेपालकोे शिक्षा क्षेत्रको विकासको निम्ती आवश्यक सबैं खालको सहयोग गर्न जापान सरकार तयार रहेको प्रतिबद्वता व्यक्त गरे । बिगतमा गर्दै आएको सहयोलाई निरन्तरता दिने बताउँदैं राजदूत ओगावाले बिज्ञान र प्रविधीको विकासको लागी नेपालको आवश्यकता अनुसार सहयोग गर्न तयार रहेको पनि प्रष्ट पारे ।
जापानमा अध्ययनरत नेपाली बिद्यार्थीहरुको सुरक्षा र छात्रबृत्तिलाई व्यवस्थित गर्न जापान सरकारको ध्यानाकर्षण गराउँदैं मन्त्री पोखरेलले राजदूत ओगावा संगको भेटमा अध्ययनको लागी नेपाली बिद्यार्थीको प्रमुख गन्तव्य जापान रहेको जानकारी गराए ।
भूकम्प पछाडिको विद्यालय पुननिर्माणका लागि जापान सरकारवाट प्राप्त सहयोग विशेष उल्लेखनीय भएको चर्चा गर्दै मन्त्री पोखरेलले विद्यालय क्षेत्र विकास योजनाका लागि जापान सरकारबाट प्राप्तहुने प्रतिवद्धता भैसकेको १५ मिलियन अमेरिकी डलर विद्यालय शिक्षाको विकासका लागि महत्वपुर्ण हुने विश्वास व्यक्त गरे ।
अहिले भूकम्प प्रभावित जिल्लाका क्षतिग्रस्त २ सय ८३ विद्यालयहरुका भौतिक संरचना जापान सरकारको सहयोगमा निर्माण हुँदैछ । हाल करीव १ सय विद्यालय भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन् ।
राजदूत ओगावा संगको भेटमा मन्त्री पोखरेलले दुई देश वीचको सम्बन्ध थप सुदृढ हुने र नेपालको समग्र विकासको लागि जापानी सहयोगमा अझ बढोत्तरी हुनेमा विश्वास व्यक्त गर्दै जापान सरकारको सहयोगको निरन्तरताको अपेक्षा राखेको बताए ।