काभ्रे । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले मन्दिरहरू जथाभाबी प्लास्टर अनि मार्वलिकरण गर्दा हाम्रो सांस्कृतिक धरोहरहरूको स्वरूप नै बिग्रेको बताउनुभएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ९ मा अवस्थित बछला देवी मन्दिरको शिलान्यास कार्यक्रममा उहाँले मन्दिरहरू मौलिक परम्परा अनुसार नै निर्माण गर्नु पर्नेमा जोड दिनुभएको हो ।
मन्दिरहरू हाम्रा पुर्खाको धरोहर भविष्यका पुस्ताका लागि विरासत हो जुन हामीले मौलिक रूपमा नै जोगाई राख्नु हाम्रो कर्तव्य रहेको समेत बताउनुभएको थियो ।कार्यक्रममा धुलिखेल नगरपालिका का उपमेयर नीराजन जङ्गमले मन्दिरहरू हाम्रा धरोहर भएको बताउँदै हाम्रो धर्म संस्कृति जगेर्ना गर्न हामीले मन्दिरहरूको संरक्षण गर्नु पर्ने बताउनुभएको थियो ।
कार्यक्रममा धुलिखेल नगरपालिका वडा नम्बर ९ र ११ का वडा अध्यक्षहरू नेपाली काँग्रेस काभ्रे जिल्ला कार्यसमितिका सचिव माधव ढकाल तथा स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो ।





































