काठमाडौं ।
मानव शरीरमा रहेको जीनबाट देखा पर्ने विकृतियुक्त समूह मस्कुलर डिष्ट्रोफीका कारण अपांगता भएका १८ जिल्लाका ५० जनालाई शनिबार राजधानीमा एकएकथान ह्विलचियर प्रदान गरिएको छ ।
मस्कुलर डिष्ट्रोफीका कारण मांसपेशीहरुमा सुक्ष्म परिर्वतन ल्याई शरीर कमजोर बनाउने चिकित्सकहरु बताउँछन ।
मस्कुलर डिष्ट्रोफी फाउण्डेशन नेपालको आयोजना तथा लायन्स क्लव काठमाडौं समर्पणको सहयोगमा शनिबार अग्रवाल सेवा केन्द्र कमलपोखरीमा आयोजित एक कार्यक्रममा ती ह्विलचियर प्रदान गरिएको हो ।
संस्थाले मस्कुलर डिष्ट्रोफी रोगबाट पीडित वालवालिकाको शारिरीक रोग परिक्षण तथा आधारभूत उपचार पद्धतिबारे जानकारी गराउन शनिबार निशुल्क स्वास्थ्य शिवीर आयोजना गरेको थियो ।
नशा,
छाती, मुटुरोग, वंशानुगत, वालरोग, फिजियोथेरापिष्ट समेतको सेवा दिने उद्धेश्यले आयोजित निःशुल्क मस्कुलर डिस्सिप्लिनरी हेल्थ क्याम्प (स्वास्थ्य शिवीर) मा ६० जना सहभागी भएको फाउण्डेशनले जनाएको छ ।
मस्कुलर डिष्ट्रोफी पीडित भएतापनि सम्पर्कमा आउन नसकेका ग्रामिण भेगका त्यस्ता व्यक्तिलाई लक्षित गरि आयोजना गरिएको शिवीरमा आएका विरामीलाई एक्सरे, इसिजी, इको, मांशपेशीको अभ्यास र खोपमा लाग्ने खर्चमा समेत सहुलियत दिइएको फाउण्डेशनले जनाएको छ ।
शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिवरिमा त्रिविवि शिक्षण अस्पतालका डीन एवम् वरिष्ठ स्नायुरोग विशेषज्ञ प्रा.डा.जेपि अग्रवाल, त्रिविविकै हाडजोर्नी तथा जेनेटिक विज्ञ प्रा.रोहित पोखरेल, छातीरोग विशेषज्ञ डा. शान्तलाल दास, छालारोग विशेषज्ञ डा.प्रमोद अग्रवाल, वरिष्ठ वालरोग विशेषज्ञ डा.प्रदिपकुमार गुप्ता, नशारोगविज्ञ डा.पारस रायमाझि लगायतले निशुल्क स्वास्थ्य सेवा दिएका थिए ।
फाउण्डेशनका अध्यक्ष प्रा.जे.पी.अग्रवालका अनुसार मस्कुलर डिष्ट्रोफी विरामी तथा अपाङ्कहरुको लागि दीर्घकालिन उपचार तथा पुर्नस्थापनाका लागि काठमाण्डौं को सांखुस्थित खुलालटारमा पक्की भवन बनाउन शुरु गरिएको फाउण्डेशनले जनाएको छ ।








































