जनकपुरधाम– एउटा यस्तो सम्मेलन, जहाँ सबैभन्दा ठुलो मुर्ख (महामुर्ख)को उपाधि लिन तछाड मछाड हुन्छ । त्यसमा पनि त्यो महामुर्खको उपाधि लिन सामान्य व्यक्तिमात्र नभइ समाजमा ‘विद्वान’ कहलिएका व्यक्तिहरू, बुद्धिजीविहरू, लेखक, साहित्यकार, कलाकार, पत्रकार, राजनीतिक दलका नेताहरूबीच प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धामा उत्रिनेमध्ये एकजनाले ‘महामुर्ख’को उपाधि पाउँछन् भने अन्य प्रतिस्पर्धीहरु विभिन्न शीर्षकमा ‘मुर्ख’को उपाधि पाउँछन् ।
जनकपुरमा मिथिला नाट्य कला परिषद जनकपुरद्वारा हरे वर्ष फागु पूर्णिमाको अबसर पारेर होली बिशेष २ दिने कार्यक्रम आयोजन गरिन्छ । एक दिन होली (होरी) महोत्सव र अर्को दिन महामुर्ख सम्मेलनको कार्यक्रम आयोजन गरेर महामुर्खको उपाधि दिने गरिन्छ ।
उक्त सम्मेलनमा मैथिली भाषा क्षेत्रका साहित्यकार तथा कवि र लेखकहरूद्वारा बिभिन्न हास्य कबिता तथा गजलहरूको बाचन हुन्छ । कविहरूले कवितामार्फत समसामयिक विषय, राजनीतिक अवस्था तथा विभिन्न किसिमका समस्याहरूप्रति व्यंग्य गर्छन् ।
मिथिलामा होलि पर्ब मनाउँदा यसरी नै होलीका गीत तथा गजलहरू गाएर व्यंग्य गर्ने ठूलो अवसर प्राप्त हुन्छ । यो अवसरमा गरिने कुरालाई सामान्य (व्यंग)का रुपमा लिइने भएकाले पनि कविहरुले मौकाको सदुपयोग गर्न छुटाउँदैनन् ।
कार्यक्रमको उद्घाटन मिनापका कलाकारहरूले एउटा नाट्य छनिकाबाट गर्छन् । यसपटक मिथिलामा भाषा विवाद देखिएकाले नाट्य छनिका पनि भाषा बिबादमै केन्द्रित थियो । मिथिलामा बोलिने मातृभाषा मैथिली नै भए पनि बोली (बोल्ने शैली) मात्र फरक भएका कारण त्यो भाषा मैथिली नभएको भनेर अनावश्यक रूपमा ठेठी तथा अन्य भाषा हो भनेर बिबाद देखाईनु, मातृभाषा मैथिली भए पनि सांसदहरूले आफ्नो मातृभाषा मैथिलीमा शपथ नलिएर हिन्दी भाषामा सपथ लिएको विषयलाई समेत आज मिनापले मञ्चन गरेको उक्त नाटकमा समेटिएको थियो ।
कसले पाए ‘महामुर्ख’को उपाधि ?
राष्ट्रियसभा सदस्य तथा राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका ब्रिखेशचन्द्र लालले यस वर्ष महामुर्खको उपाधि प्राप्त गरेका छन् । मैथिली, नेपाली अंग्रेजी र हिन्दी सहित बहुभाषी भए पनि पद, प्रतिष्ठा वा पुरस्कारको कुनै पनि लोभ लालच नगरी आफ्नो मातृभाषा मैथिलीमा सेवा गरेका कारण उनको योगदानलाई सम्मान गर्दै आयोजक मिनापले २०७४ सालको महामुर्ख उपाधि सहित प्रशस्ती पत्र प्रदान गरेको जनाएको छ । त्यसै गरी अन्य बिधाहरुको शीर्षकसहित मुर्खका अन्य व्यक्तिलाई मुखको उपाधि प्रदान गरिएको छ ।
जनकपुर उपमहानगरपालिकाको उपमेयर रिता देबी मिश्रलाई मैनाबतिको, प्रदेश सांसद राम आशिष यादवलाई हराशंखको, प्रदेश सभा सांसद परमेश्वर साहलाई लोढाशंकरको, महोत्तरीको मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डललाई हिरामन (मुर्ख)को उपाधि प्रदान गरिएको छ ।
यस्तै वीरगंजका पत्रकार महेश दासलाई बंशकुरहैरको, अधिवक्ता रेखा झालाई अदलबदलीको, प्रतिनिधिसभाका सांसद प्रमिला देवी दासलाई दिलतोडीयाको, जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष ललित कुमार साहलाई गिरगीटीयाको, मैथिली बिकाश कोषको अध्यक्ष जीवनाथ चौधरीलाई बज्रकीटको, साहित्यकार ब्रजमोहन झालाई चपाटनन्दनको, हंसपुर नगरपालिकाका मेयर रामग्यान मण्डललाई खेशारिलालको र जिल्ला क्रिकेट संघका अध्यक्ष हीरा भगतलाई मुसरिलाल (मुर्ख)को उपाधि प्रदान गरियो ।
प्रतिनिधि सभाका सांसद मुक्ता कुमारी यादव र हंसपुर नगरपालिकाकी उपमेयर रेनू देवी झालाई पनि मूर्खको उपाधि प्रदान गरिएको छ । उपाधि प्राप्त गर्न सफल भएका व्यक्तिलाई बिभिन्न तरकारीसहितको माला पहिर्याइएको थियो भने ब्यंगात्मक तस्वीर सहितको चित्रकला पनि प्रदान गरिएको थियो । महामूर्ख सम्मेलनमा हजारौं दर्शकहरू सहभागी भएका थिए ।
यसअघि माओबादी केन्द्रका नेता रामचन्द्र झा, एमाले नेता शीतल झा, राजनीतिक विश्लेषक सीके लाल, एमाले नेता शत्रुघन महतो लगायतले महामुर्खको उपाधि प्राप्त गरिसकेका छन् । बिगत २२ बर्षदेखि मिनापले महामुर्ख सम्मेलनको आयोजन गर्दै आएको छ । मिनापका पुर्ब अध्यक्ष सुनील कुमार मल्लिकका अनुसार मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा अधिकारको क्षेत्रमा काम गर्ने मैथिली अभियान्ताहरूलाई महामुर्ख तथा बिभिन्न तहका मुर्खहरूको उपाधि प्रदान गरिन्छ । मिनापले आफै कार्यदल गठन गरेर ती उपाधि कसलाई प्रदान गर्ने भनेर निर्णय गर्ने गरेको मल्लिक बताउँछन् ।







































