राजविराज कारागारमा निर्वाचन लक्षित विशेष सुरक्षा व्यवस्था

0

राजविराज । राजविराज — प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै राजविराजस्थित कारागार कार्यालय सप्तरीमा विशेष सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउने उद्देश्यले नेपाली सेना को एक टोली परिचालन गरिएको हो।

नेपाली सेनाअन्तर्गत बरख गण का गणपति सोबितबहादुर चन्दका अनुसार कारागार सुरक्षाका लागि अधिकृत दर्जाको कमाण्डमा ३५ जना नेपाली सेना परिचालन गरिएको छ। बिहीबारदेखि परिचालन गरिएको उक्त टोली निर्वाचन अवधिभर कारागार परिसरमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न सक्रिय रहने जनाइएको छ।

गणपति चन्दले सम्भावित जोखिम न्यूनीकरण गर्दै जिल्लावासीलाई सुरक्षित रूपमा आफ्नो मताधिकार प्रयोग गर्न सहज वातावरण सिर्जना गर्नु सेनाको मुख्य जिम्मेवारी रहेको बताउनुभयो। निर्वाचन अवधिभर सुरक्षा निकायबीच आवश्यक समन्वयसमेत गरिने जानकारी दिइएको छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन एक साताअघि नै सप्तरी जिल्ला भरि नेपाली सेना परिचालन गरिसकिएको छ।