काठमाडौं।
नेपालीहरूको महान् चाड विजयादशमी मनाउन आआफ्नो घर जाने यात्रुको संख्या दैनिक रूपमा वृद्धि भइरहेको छ ।
बजारमा किनमेलका लागि भीडभाड बढेको छ भने काठमाडौं उपत्यका छोड्ने यात्रुको संख्या पनि हरेक दिनजसो बढेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार १ लाख ५७ हजार ९५१ यात्रु दसैंका लागि बाहिरिएका छन् । त्यसभन्दा अघिल्लो दिन बिहीबार १ लाख १० हजार ३२७ जना यात्रु बाहिरिएका थिए ।
सरकारले ५ असोजदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खोलेको थियो । त्यस दिनदेखि शुक्रबारसम्म १८ लाख १३ हजार ६०१ यात्रुले उपत्यका छाडेको महाशाखा प्रमुख वसन्त पन्तले बताए । उनका अनुसार फूलपातीका दिनसम्म २० लाख यात्रु बाहिरनेछन् भने अष्टमीसम्म उपत्यका सुनसान हुनेछ ।
गत वर्ष दसैं मनाउन २४ लाखभन्दा बढी यात्रुले उपत्यका छाडेका थिए । ५ असोजदेखि शुक्रबारसम्म २ लाख ११ हजार ५६५ वटा सार्वजनिक सवारी बाहिरिएका छन् ।
त्यस्तै, उपत्यकाका विभिन्न स्थानका टिकट काउन्टरबाट कुल १ लाख ४२ हजार २४१ वटा टिकटको अग्रिम बुकिङ भएको छ । तर, अहिलेसम्म १९ लाखको हाराहारीमा यात्रुहरू बाहिरिएका छन् । अधिकांश यात्रुहरू अग्रिम टिकट बुकिङ नगरी आफ्नो घर जाने गरेका छन् । जसले गर्दा बढी भाडा लिने तथा टिकटमा कालोबजारी बढेको छ ।
कालोबजारी गर्ने सवारीहरूमा साना सवारीसाधन बढी रहेको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका प्रवक्ता गोकर्ण उपाध्यायका अनुसार बढी भाडा लिने ५० भन्दा बढी साना सवारीलाई कारबाही गरिएको छ । ती सवारीलाई २ देखि ५ हजारसम्म जरिमाना तथा कसुर हेरी रुट परमिट खारेज गर्ने व्यवस्था छ । विभागले सहज यात्राका लागि दैनिक अनुगमन गरेको जनाएको छ ।
त्यस्तै, विभागका अनुसार टिकटमा कालोबजारी रोक्न तथा सर्वसाधारणको यात्रा सफल पार्न मुलुकैभरि रुट परमिट खुला गरिएको छ । मुलुकभरि रुट परमिट खुला भएपछि उपत्यकाभित्र चल्ने साना तथा ठूला सवारीसाधन पनि उपत्यकाबाहिर जान पाउने विभागले जनाएको छ ।
त्यति मात्रै होइन, विभागले सर्वसाधारणको सहज यात्राका लागि नारायणगढ तथा काठमाडौं सडकखण्डमा ठूला मालबाहक सवारी निषेध गरेको छ । सो सडकखण्डमा १६ र १८ चक्के मालवाहक गाडीलाई निषेध गरिएको छ । त्यस्ता मालबाहक गाडीहरू २४ असोजदेखि ३१ असोजसम्मका लागि चितवनको नारायणगढमै रोकिने विभागले जनाएको छ ।
सर्वसाधारणको यात्रा सहज बनाउन ट्राफिक प्रहरीले उचित व्यवस्था मिलाएको दाबी गरेको छ । महाशाखा प्रमुख बसन्त पन्तले भने, ‘हामीले सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भनेर सहायता कक्षको व्यवस्था गरेका छौं ।’ सर्वसाधारणको सहायताका लागि जाम हुने ठाउँमा विशेष ध्यान पु¥याएको महाशाखा प्रमुख पन्तले बताए ।
साथै सर्वसाधारणलाई यात्राका क्रममा अलपत्र हुन नदिन ट्राफिक महाशाखा, नेपाल प्रहरी, यातायात व्यवसायी तथा नागरिक समाजले काठमाडौं उपत्यकाका १३ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेका छन् । उनका अनुसार उपत्यकाको नयाँ बसपार्क, कलंकी, नागढुंगा, पुरानो बसपार्क, सुन्धारा, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाती, लगनखेल, सातदोबाटो तथा बल्खुलगायतका विभिन्न स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरिएका छन् । ती सहायता कक्षहरूले दसैंका लागि उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई यातायातबाट ठगिएमा, बीच बाटोमा अलपत्र परेमा वा अन्य कुनै समस्या परेमा सहयोग गर्ने प्रमुख पन्तले राजधानीलाई बताए ।राजधानी दैनिक







































