लाभकर विवादमा एनसेलसँग ६१ अर्बको ब्याजसहित असुल गरिने

317

काठमाडौं– सर्वोच्च अदालतले लाभकर छली प्रकरणमा एनसेलको मुख्य दायित्व रहेको दाबी गरेलगत्तै ठूला करदाता कार्यालयलाई कर असुल गर्ने बाटो खुलेको छ।

सर्वोच्चको फैसला अनुसार करदाता कार्यालयले एनसेलसँग पुँजीगत लाभकर ६१ अर्ब नै असुल गर्ने ठूला करदाता कार्यालयका कर प्रमुख धनीराम शर्मा पौडेलले बताए।

एनसेलले यसअघि बुझाएको रकमको विवरण टेलियासोनेराले उपलब्ध गराएमात्र उसको हिसाब मिलान गर्न सकिने नत्र ६१ अर्बको साँवा, ब्याजसमेत असुल गर्न आफूहरु बाध्य हुने पौडेलले बताए।

‘सर्वोच्चले लाभकर विवादमा एनसेल नै मुख्य जिम्मेवार भएको भनी फैसला आएको सुनेको छु,’ पौडेलले नेपाल लाइभसँग भने, ‘यदि उक्त फैसला भएको हो भने हामी छिटै पैसा माग्दै पत्र लेख्छौं।’

सेयर खरिदबिक्री भएको ४ वर्षभित्र विवरण बुझाउनुपर्ने टेलियाको दायित्व अनुसार विस्तृत विवरण आएमा यसअघि बुझाएको २१ अर्ब हिसाब मिलाउन पाउने उनले बताए। तर उसले विवरण उपलब्ध नगराए यसअघि निर्धारण भएको ६१ अर्ब नै आफूहरु असुल गर्न बाध्य हुने उनको भनाइ छ।

‘हामी जतिसक्दो छिटो असुल गर्ने प्रक्रियामा लाग्नेछौं,’ उनले भने, ‘सर्वोच्चको आदेश प्राप्त गरेपछि यस बारेमा पत्र लेख्नेछौं।’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको पूर्ण इजलासले एनसेल बिक्रीबापतको लाभकर सोही कम्पनीबाट असुल उपर गर्न आज परमादेश जारी गरेको छ।