लो बिडिङमा नहाल्दासम्म ठेक्का नै पर्दैन : निर्माण व्यवसायीहरु

333

भक्तपुर । साना निर्माण व्यवसायीहरुले ठूला व्यवसायीहरुका कारण आफू व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था आएको गुनासो पोखेका छन् । ठूला व्यवसायीहरुका कारण आफूहरु कम दर (लो बिडिङ) मा जानुपर्ने बाध्यता आएको र त्यसले निरन्तर घाटामा गई व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको उनीहरुको दुःखेसो थियो ।
निर्माण व्यवसायी संघ भक्तपुरको आइतबार भएको सत्रौं वार्षिक साधारणसभामा उनीहरुले भने, ‘ठूला माछाले सानो माछा खाएजस्तै ठूला व्यवसायीका कारण साना व्यवसायीहरु मारमा पर्ने अवस्थाको अन्त्य हुनुपर्छ ।’
काम सम्पन्न गरेर समयमा भुक्तानी नपाइने समस्याले पनि साना व्यवसायीहरुलाई व्यवसायमा लामो समय टिक्न गा¥हो भइरहेको उनीहरुको भनाइ थियो ।
‘लो बिडिङमा नहाल्दासम्म ठेक्का नै पर्दैन’, उनीहरुले भने, ‘काम नगरी पनि हुँदैन । कामदार पाल्नैप¥यो । मेसिन र उपकरण चलाउनै प¥यो । तर काम सम्पन्न गरेर पनि समयमा भुक्तानी नपाइँदा टिक्न गा¥हो छ ।’
साधारणसभा उद्घाटन गर्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण व्यवसाय समस्यै समस्याले भरिएको क्षेत्र भएको बताए ।
निर्माण व्यवसायीहरु ठेकेदार नभई देश निर्माता भएको उनको भनाइ थियो ।
‘जनताले हामीलाई ठेकेदार भन्दा होच्याएको महसुस हुन्छ’, अध्यक्ष श्रेष्ठले भने, ‘तर हामी देश निर्माताको रुपमा अघि बढिरहेका छौं ।’
उनले निर्माण ऐन व्यवसायी मैत्री हुनुपर्ने माग गर्दै उक्त ऐन निर्माण गर्नुअघि आफूसँग छलफल गर्न चेतावनी दिए ।
अध्यक्ष श्रेष्ठले निर्माण व्यवसायलाई उद्योगको रुपमा विकास गर्न सम्पूर्ण पक्ष लाग्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाईं, महासचिव विजयकुमार देउजा, सचिव प्रेम खत्री, निर्माण व्यवसायी संघ काभ्रे उपाध्यक्ष विजय तामाङ, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, भक्तपुर निर्माण सामग्री व्यापार संघका अध्यक्ष सिद्धिनारायण आचार्यलगायतले पहुँचको आधारमा ठूला व्यवसायीले मात्रै ठेक्का पाइरहने परिपातीको अन्त्य हुनुपर्ने धारणा राखेका छन् ।

निर्माण व्यवसायीहरुद्वारा क्षतिपूर्ति माग

त्यस्तै निर्माण व्यवसायीहरुले जिल्ला समन्वय समिति भक्तपुरबाट फर्म नवीकरण नगरिँदा पुगेको घाटाको क्षतिपूर्ति दिन निर्माण व्यवसायी संघ भक्तपुरसमक्ष माग गरेका छन् ।
जिल्ला समन्वय समितिले विभिन्न कारण देखाएर फर्म नवीकरण नगरिएका ४२ फर्मका प्रोप्राइटरहले निर्माण व्यवसायी संघले समेत आफूहरुको फर्म नवीकरणमा चासो नदिएको गुनासो गरेका छन् । जेपी निर्माण सेवाका प्रोप्राइटर उद्धव खड्काले निर्माण व्यवसायी संघले चासो नदिँदा आफूहरुको फर्म नवीकरण गर्न जिल्ला समन्वय समिति पछि हटेको सुनाए ।
‘हामीले पटकपटक जिल्ला समन्वय समिति र निर्माण व्यवसायी संघमा ज्ञापनपत्र दियौं’, उनले भने, ‘तैपनि फर्म नवीकरण हुन सकेको छैन । फर्म नवीकरण नहुँदा काम गर्न पाएका छैनौं तर कामदार र मेसिन तथा उपकरणमा खर्च भइरहेको छ ।’
त्यसैले फर्म नवीकरण नभएको कारण काम गर्न नपाउँदा भएको घाटाको क्षतिपूर्ति व्यवसायी संघले दिनुपर्ने उनको माग छ ।
त्यस्तै दुवाल कन्स्ट्रक्सनका प्रोप्राइटर कृष्णराम दुवालले भूकम्पमा फर्मसम्बन्धी कागजात हराएकै कारण आफूहरुको फर्म नवीकरण नगरिदिनु दुर्भाग्य भएको बताए ।
‘फर्म नवीकरण नभएकै कारण वार्षिक दसौं लाख रुपैयाँ घाटा व्यहार्दै आएका छौं’, उनले भने, ‘आफ्नो सदस्य फर्मको हक हितमा काम नगर्ने भए निर्माण व्यवसायी संघले क्षतिपूर्ति दिनुपर्छ ।’