डिभिजन वन कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–६ बेल्डीस्थित वन क्षेत्रमा बनाइएका अवैध घरटहरा भत्काएको छ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रंगपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले वन क्षेत्रमा निर्माण गरिएका ६ वटा अवैध घर तथा छाप्रा बिहीबार भत्काएर अतिक्रमण हटाएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताउनुभयो।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा कर्मचारीहरू निर्वाचन कार्यमा खटिएको बेला केही व्यक्तिहरूले वन क्षेत्रमा रातारात घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरेको पाइएको हुँदा वन क्षेत्र खाली गराउन ती घरटहरा हटाइएको प्रमुख साहले बताउनुभयो। उहाँका अनुसार अन्य स्थानमा रहेका अतिक्रमित वन क्षेत्र खाली गराउन पनि कार्यालय सक्रिय रहेको छ।
वन संरक्षण तथा अवैध अतिक्रमण नियन्त्रणमा कार्यालय सदैव अग्रसर रहेको उल्लेख गर्दै प्रमुख साहले कुनै पनि बहानामा यस्ता गतिविधिलाई छुट नदिइने बताउनुभयो।
वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई उहाँले आग्रह गर्नुभएको छ। साथै नियम–कानुनको पूर्ण पालना गर्न प्रत्येक नागरिक सचेत हुनुपर्ने उहाँको भनाइ छ।






































