वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव र प्रदेश मुख्यमन्त्रीमा यसरी गर्दैछ भागबन्डा

211

काठमाडौं. वाम गठबन्धनले राष्ट्रिय सभाको चुनाव, प्रदेश मुख्यमन्त्री र सभामुख पदमा पनि यसअघिकै जस्तो ६० र ४० प्रतिशतका आधारमा भागबन्डाको तयारी गरेका छन् । एमाले र माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवार, प्रदेश सरकार गठनलगायत विषयमा मापदण्ड तयार गर्न बनाएको कार्यदलले विगतको सहमतिकै आधारमा छलफल अघि बढाएको छ ।

यसअघि प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा एमालेले ६० र माओवादीले ४० प्रतिशत भागबन्डा गरी उम्मेदवार तय गरेका थिए । प्रतिनिधिसभा चुनावको परिणाम भने ७० र ३० को अनुपातमा आएको थियो । कार्यदलको शुक्रबार बसेको बैठकले चारवटा आधार तयार बनाएर छलफल गर्ने निष्कर्ष निकालेको छ । कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्बाङका अनुसार प्रदेशगत रूपमा पार्टीको अवस्था, पार्टी एकताको भावना, सम्बन्धित पदका लागि आवश्यक योग्यता र समावेशी सन्तुलनलाई ख्याल गरेर उम्मेदवार तय हुनेछ ।
‘स्थानीय तह र प्रदेशसभा चुनावमा पाएको मतलाई आधार मानेर हेरिनेछ,’ बैठकपछि नेता नेम्बाङले सञ्चारकर्मीसँग भने,‘स्थानीय तह र प्रदेशसभा चुनावको नतिजालाई आधार बनाइने छ । सोही शक्तिका आधारमा पार्टी एकताको भावना प्रतिकुल नहुने गरि सिट बाँडफाँट गरिनेछ । हामी एउटै पार्टी हुँदैछौं भन्ने भावना अनुसार सिटकेा बाँडफाँड गर्छौं ।’राष्ट्रियसभा निर्वाचनको उम्मेदवार दर्ता माघ १०मा रहेका त्यस अघि नै सिट बाँडफाँट टुंगो लगाउने नेम्वाङले बताए ।राष्ट्रियसभाका ५६ सिटमा वामपन्थी गठबन्धनले साझा उम्मेदवार उठाउनेछ । स्रोतका अनुसार राष्ट्रियसभामा समग्रमा ६०/४० अनुपातमा सिट बाँडफाँट हुने सम्भावना छ ।

यद्यपि कुन प्रदेशमा एमाले र माओवादीका कति मतदाता छन् भन्ने पनि हेरिने कार्यदलका एक सदस्यले बताए ।

‘कुनै प्रदेशमा माओवादीको संख्या निकै कम छ, त्यहाँ उसले ४० प्रतिशत माग्दैन, कुनैमा माओवादीको संख्या निणर्ायक हुनेछ, त्यहाँ सोही अनुपातमा बाँडफाँट हुन्छ’ उनले भने ।

मुख्यमन्त्री यसरी बाँडिदैछ

यो कार्यदलले नै भावी प्रदेश सरकारका मुख्यमन्त्री, सभामुखसहित प्रदेश संरचनाबारे पार्टी एकता संयोजन समितिलाई सुझाव दिने जिम्मेवारी पाएको छ ।

७ मध्ये ६ वटा प्रदेशमा वामपन्थीको बहुमत छ ।

मुख्यमन्त्री, सभामुख बाँडफाँटमा पनि चारवटा आधारलाई मुख्य मानिने एमाले नेता नेम्वाङले बताए । ‘एउटै पार्टी भएपछि कसले कति पाउने भन्ने रहेन, कुन प्रदेशमा मुख्यमन्त्री र सभामुख बन्न कस्तो व्यक्ति उपयुक्त छ,व्यक्ति हेरेर पनि बाँडफाँड हुन्छ’ उनले भने, ‘यसले यति पाउने भन्ने मात्र आधार छैन ।’

स्रोतका अनुसार ६ वटा प्रदेशका मुख्यमन्त्रीमध्ये चारवटा एमालेले र दुईवटा माओवादीले पाउने सम्भावना छ । प्रदेशका सभामुखको बाँडफाँट पनि सोही अनुसार हुनेछ ।

मुख्यमन्त्री बाँडफाँड गर्दा सम्बन्धित प्रदेशको जातीय सन्तुलनलाई पनि ध्यान दिइनेछ ।

प्रदेश १ः चार नेता दाबेदार

एकलौटी बहुमत रहेको प्रदेश १ मा एमालेका चार नेता मुख्यमन्त्रीको दौडमा छन् । सुनसरीबाट विजयी सचिव भीम आचार्य, भोजपुरबाट विजयी पोलिटब्युरो सदस्य शेरधन राई र केन्द्रीय सदस्य राजेन्द्र राई मुख्यमन्त्रीको दाबेदार देखिएका छन् । त्यस्तै, झापाबाट निर्वाचित केन्द्रीय सदस्य हिक्मत कार्कीले पनि आपूmलाई मुख्यमन्त्रीको दाबेदारका रूपमा उभ्याएका छन् । आचार्य र राजेन्द्र वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल निकट हुन् भने शेरधन र कार्की केपी ओलीनिकट छन् ।

प्रदेश २ : आधा दर्जनको दौड

प्रदेश २ मा कुनै पनि दलको एकल बहुमत छैन् । संघीय समाजवादी फोरम, राजपा र एमाले नेताहरू मुख्यमन्त्रीको दौडमा छन् । १०७ सिटमा मधेसकेन्द्रित दुई दल मिलेको अवस्थामा प्रत्यक्ष र समानुपातिकसहित ५४ सिट पुग्दा बहुमत पुग्नेछ । तर, मुख्यमन्त्रीमा राजपासँग कुरा नमिले २९ सिट जितेर प्रदेशमा ठूलो दल बनेको फोरम अध्यक्ष उपेन्द्र यादवले वाम गठबन्धनसँग पनि समानान्तर छलफल गरिरहेको स्रोत बताउँछ । प्रदेश २ मा राजपाले २५, एमालेले २१ र कांग्रेसले १९ सिट जितेका छन् । अहिलेसम्म फोरमबाट पर्साबाट विजयी लालबहादुर राउत, सिरहाका विजय यादव तथा सप्तरीबाट विजयी राजपा महामन्त्री मनीषकुमार सुमन तथा बाराबाट विजयी नेता जितेन्द्र सोनल दाबेदार छन् । एमालेबाट सप्तरीबाट विजयी प्रदेश संयोजक सत्यनारायण मण्डल पनि दाबेदार छन् ।

प्रदेश ३ : ‘हेभिवेट नेता’ धेरै दाबेदार

११० सिटमा ६८ सिट जितेका कारण एकलौटी सरकार गठन गर्ने स्थितिमा रहेको एमालेबाट धेरै ‘हेभिवेट’ नेता मुख्यमन्त्रीको दौडमा छन् । काठमाडौंबाट विजयी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, दोलखाबाट विजयी पोलिटब्युरो सदस्य पशुपति चौलागाईं, धादिङबाट विजयी राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन् । त्यस्तै, पोलिटब्युरो सदस्य अरुण नेपाल, सानुकुमार श्रेष्ठ, काठमाडौंका पूर्वमेयर केशव स्थापितले पनि दाबी गरेका छन् । पार्टी उपाध्यक्ष र महिला नेतृ भएकाले लैंगिक सन्तुलन मिलाउन शाक्यलाई बनाउनुपर्ने दबाबमा एमाले नेतृत्व छ । चौलागाईं र पाण्डेले पनि लबिङ तीव्र पारेका छन् ।

प्रदेश ४ : दुई गुरुङबीच प्रतिस्पर्धा

प्रदेश ४ का ६० मध्ये वाम गठबन्धन ३९ सिट जितेर बहुमतमा छ । लमजुङबाट विजयी एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र तनहुँबाट विजयी स्थायी समिति सदस्य किरण गुरुङ मुख्यमन्त्रीको दौडमा छन् । सचिव गुरुङ नेताहरूसँगको भेटघाटमा छन् भने स्थायी समिति सदस्य गुरुङ जिल्लामै छन् । माओवादीले यो प्रदेशमा दाबी प्रस्तुत गरेको छैन ।

प्रदेश ५ : पोखरेलको नाम सर्वसम्मत

वाम गठबन्धनका तर्फबाट एमाले स्थायी समिति सदस्य शंकर पोखरेल प्रदेश ५ को मुख्यमन्त्रीको सर्वसम्मत उम्मेदवार छन् । एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच चुनावअगावै पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति भएकाले उनको नाममा अहिलेसम्म कसैको विमति छैन । एमालेबाट वैकल्पिक पोलिटब्युरो सदस्य बैजनाथ चौधरी दाबेदार मानिए पनि उनलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएर व्यवस्थापन गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

प्रदेश ६ : भण्डारी र शाहीको दाबी

प्रदेश ६ मा माओवादीले मुख्यमन्त्रीका लागि सशक्त दाबी गरेको छ । पोलिटब्युरो सदस्यद्वय नरेश भण्डारी र महेन्द्रबहादुर शाहीले दाबी प्रस्तुत गरेका हुन् । भण्डारी जुम्ला र शाही कालिकोटबाट विजयी सांसद हुन् । सल्यानबाट विजयी एमाले नेता प्रकाश ज्वाला र सुर्खेतबाट विजयी यामलाल कँडेल पनि मुख्यमन्त्रीको चर्चामा छन् ।

प्रदेश ७ : दुवै दलका नेता दौडमा

प्रदेश ७ मा माओवादीका दुई नेताले दाबी गरेका छन् । कैलालीका वीरमान चौधरी र अछामका झपट बोहरा दौडमा छन् । चौधरी पोलिटब्युरो सदस्य हुन् । एमालेबाट वैकल्पिक केन्द्रीय सदस्य प्रकाश शाह, कैलाली अध्यक्ष दीर्घ सोडारी र कञ्चनपुर अध्यक्ष तारा लामा पनि दौडमा छन् ।