Home निर्वाचन विद्यार्थीसामु ओलीको उद्घोष– दाउरा सकियो, अव माओवादी उम्लिंदैन
काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेबिरुद्ध भएका सबै मोर्चाबन्दीलाई परास्त गर्दै एमालेले प्रदेश र केन्द्रमा बहुमतसहितको सरकार बनाउने घोषणा गर्नुभएको छ । ओलीले मुलुक एमालेमय भएको हेर्ने बानी बसाउन अन्य पक्षलाई सुझावसमेत दिनुभयो ।
चितवनमा आइतबारदेखि सुरु अनेरास्वबियुको दोस्रो बिस्तारित बैठकको उद्घाटन गर्दै उहाँले नेपालका अन्य राजनीतिक खेलाडीले खेलभन्दा फल गर्न जानेकाले त्यस्ता फल खेल्नेहरुलाई पहिचान गरी रोक्नुपर्ने बताउनुभयो ।
‘यो देश नै एमालेमय बनाउने हो । एमालेमय देश हेर्ने वानी अव अरुले पनि बसाउनुपर्छ, बसाउनुहोस्’ उहाँले भन्नुभयो । एमालेले सात वटै प्रदेशमा सानदारका साथ बहुमत ल्याएर सरकार बनाउने घोषणा उहाँले गर्नुभयो । ‘एमालेले बहुमतका साथ सात वटै प्रदेशमा सरकार बनाउँछ । प्रदेशमात्र होइन, केन्द्रमा पनि बहुमतको सरकार बनाउँछ । अव एमालेलाई समृद्ध नेपाल बनाउनबाट कसैले रोक्न सक्दैन’ उहाँले भन्नुभयो ।
दाउरा छैन, ग्यास छैन, अव माओवादी पनि उम्लंदैन
माओवादीलाई क्यारम वोर्डको गोटी र उम्लेको दूधको संज्ञा दिंदै उहाँले भन्नुभयो, ‘बच्चाले क्यारमबोर्डको गोटी हान्दा झुक्किएर त्यो कहिलेकाहिँ दुुलोभित्र पस्छ । माओवादी त्यस्तै हो । २०६४ को निर्वाचनमा गोटी झुक्किएर दुलोमा पसेको हो । अव फेरि त्यो दोहोरिंदैन ।’
माओवादीलाई फेरि उम्मेको दूधसँग तुलना गर्दै उहाँले भन्नुभयो, ‘दुध उम्लिएको बेला भाँडोमा नअटाएर पोखिन्छ । त्यसबेला माओवादी उम्लिएको थियो । अव उम्लने समय सकियो । अव दाउरा पनि छैन, ग्यास पनि छैन । अव सकियो ।’
एमालेले अव भरतपुर काण्ड दोहोरिन नदिने ओलीले बताउनुभयो । ‘भरतपुर दोहोरिन दिदैंनौं, मतपत्र च्यात्न पनि दिंदैनौं’ उहाँले भन्नुभयो, ‘हाम्रा केही सिट धाँधलीले घटाएको छ । राज्य संयन्त्रको चरम दुरुप्रयोग गरेर घटाइएको छ । राज्यसत्ताको चरम दुरुप्रयोग गर्दा पनि एमालेलाई दोस्रो बनाउन सकिएन । अव असोज २ गते हुने निर्वाचनमा कम्तिमा पनि एमाले पहिलो पार्टी बन्छ ।’

एमालेबिरुद्धको मोर्चाबन्दी टिक्दैन
एमालेबिरुद्ध देशभित्र र बाहिर अनेक मोर्चाबन्दी भए पनि त्यस्ता मोर्चाबन्दी एमालेको शक्ति र एमालेको पक्षमा आएको जनसमर्थनबाट परास्त हुने घोषणा उहाँले गर्नुभयो । ‘हाम्रा बिरुद्ध अनेक मोर्चाबन्दी भएका छन् । ती सबै मोर्चाबन्दी सफल हुने छैनन् ।’
एमालेबिरुद्ध पार्टीहरु मिल्दैमा केही आपत्ती नभएको उहाँले बताउनुभयो । ‘पार्टीहरु मिल्दैमा आपत्ती छैन । अनेरास्वबियुजत्रा कति वटा पार्टी छन् । हुन त यो पार्टी होइन । तर यो संगठनजत्रा कतिवटा पार्टी छन् । एउटा कांग्रेस अनुरास्वबियु जत्रो छ कि ? त्यो पनि चुनावमा हेरांैला । अरु त अनेरास्वबियु जति पनि छैनन् । ३३ पार्टीको जुलुसमा ३४ जना मान्छेको सहभागिता हामीले देखेका छौं ।’
एमालेमा देश बनाउने संकल्प र दृढता भएको उहाँले बताउनुभयो । ‘एमाले देश बनाउने महान उद्धेश्य र संकल्पमा छ । ती महान उदेश्यमा दृढ र अडिग छ । दृढतापुर्वक अघि बढ्छ ।’ ओलीले भन्नुभयो, ‘अनेरास्वबियुको यो भेला भब्यताकासाथ अघि बढ्न सकोस् । एमालेलाई प्रदेश न.२ मा पनि एक नम्बर शक्ति बनाउने कुरामा १ न शक्ति हुने कुरामा अधिकतम योगदान गर्न सकोस् ।’
त्यसैगरि, मंसिर १० र २१ मा हुने प्रदेश र केन्द्रीय संसदको निर्वाचनमा पनि अनेरास्वबियुले राष्ट्रिय शक्ति केन्द्रित गर्न सक्नुपर्ने बताउनुभयो । खेलाडीले प्रतिस्पर्धी र कुन स्तरको खेल हो भन्ने हेरेर तालिम लिने गरेको उदारण दिंदै उहाँले भन्नुभयो, ‘खेलाडीले तालिम त सँधै लिन्छन् । एसियाली गेम हुँदा त्यसै अनुसारको तालिम लिन्छन् । सार्कस्तरकोे हो भने त्यसलाई ध्यानमा राखेर तालिम लिन्छन् । राष्ट्रिय भए राष्ट्रिय स्तरको तालिम लिन्छन् ।’
नेपालमा भएका अन्य राजनीतिक खेलाडीलाई खेल्नभन्दा फल गर्न आउने भएकाले त्यस्ता फल गर्ने प्रयासहरु हुनेतर्फ सजग रहन पनि सबैमा आग्रह गर्नुभयो । ‘हाम्रा देशका खेलाडीलाई खेल्न भन्दा फल गर्न बढी आउँछ । फल खेल्नेले जहाँ पाउँछ, त्यहिँ खेल्छ । कति फल खेल्ने, कति नखेल्ने भन्ने हुँदैन’ उहाँले भन्नुभयो, ‘फल गर्नेसँग पाइलैपिच्छे होसियार हुनुपर्छ । फल गर्नेलाई ध्यानमा राखेर खेलको तयारी गर्नुपर्छ ।’
एमालेबिरुद्ध सबैभन्दा बढी भ्रम प्रदेश न.२ मा फिजाइएको भन्दै त्यस्ता भ्रम चिरेर एमाले अघि बढ्नुपर्ने उहाँले बताउनुभयो । ‘सबैभन्दा बढ्ता भ्रम फिजाएको प्रदेश न.२ मा हो । हामीले भ्रमबाट सही बाटो देखाउनुपर्छ । एमालेलाई मधेश बिरोधी भनेर भ्रम फिंजाएका छन्’ उहाँले भन्नुभयो, ‘यी ठाउँमा सही बिचार दिनुपर्छ । हामी के हौं त्यो जनतामा दिनुपर्छ । जनताले मतदान गर्न पाउने र त्यस मतको सही उपयोग गर्न सक्ने स्थिति बताउनुपर्छ ।’
कतिपय ठाउँमा मतदान गर्न बुढा बुबा आमा जाँदा उहाँहरुको मत सही ठाउँमा नगएको गुनासो आएको भन्दै त्यसमा चनाखो हुन सुझाव दिनुभयो । ‘बुढा बुबा आमा जानुहुन्छ , ए बा तपाई सक्नुहुन्न भनेर हालिदिने गरेको देखिन्छ । गलत ढंगले त्यसो गरेको पाइन्छ । त्यो हुन दिनु हुँदैन’ उहाँले भन्नुभयो, ‘त्यसमा यो हुर्किएको अनेरास्वबियुको बिशेष भूमिका हुन्छ । त्यसमा ध्यान दिनुपर्छ ।’
भारतमा सात बर्ष कुर्नु पर्ने, नेपालमा आउनेबित्तिकै पाउने
अध्यक्ष ओलीले नेपालमा बाहिरबाट आएकाहरु मन्त्री र सांसदहरु भएको भन्दै नागरिकता वितरणको उदार प्रावधानको चरम दुरुप्रयोग भएको बताउनुभयो । ‘हाम्रोमा बाहिरबाट आएका दर्जन भन्दा बढी सांसद छन्, मन्त्री छन् । त्यस्ता नेताको संख्या ठूलो छ’ उहाँले भन्नुभयो, ‘त्यहीँ पारी हाम्रो छिमेकी देशमा नेपाली चेलीले नागरिकता लिन ७ बर्ष पर्खनु पर्छ ।’
कुनै देशको नागरिकताका छाडेकै भरमा त्यसै दिनदेखि नागरिकता प्राप्त गर्ने प्रावधान नेपालमा मात्र रहेको उहाँले बताउनुभयो । ‘कुनै देशले उताका नागरिकता छोडें भनेका आधारमा नागरिकता दिन्छ ? तर नेपालले दिन्छ । के हाम्रा नागरिक भारतमा गएर त्यस्तो नागरिकता पाउँछन् ?’ उहाँको प्रश्न थियो, ‘त्यही भारतमा नेपाली चेलीले बिबाह गरेको सात बर्षपछि बल्ल नागरिकताको दरखास्त दिन पाउँछिन्, बल्ल योग्यता पुग्छ । अझ पाउने नपाउने ग्यारेन्टी छैन । हामी त भारतबाट आएकाहरुलाई नागरिकता दिन्छौं । दिने बित्तिकै सांसद बनाउनँछौं, हुन्छ, मन्त्री हुन्छन् । यो भन्दा कसैलाई, कुनै देशलाई चित्त दुख्छ । मलाई अचम्म लाग्छ ।’
दरवारको टाट्नामा हुर्केकाले गणतन्त्रमा तालाबन्दी गर्ने ?

अध्यक्ष ओलीले नेपाललाई अव समृद्धितर्फ लैजाने र त्यसको नेतृत्व एमालेले गर्ने बताउनुभयो । ‘बिभिन्न भावनाबाट जनतालाई भड्काउने प्रयास भईरहेको छ । जनतालाई समृद्धिबाट पृथक लैजाने र ‘सेन्टिमेन्टल’ बनाउने काम भईरहेको छ’ उहाँले भन्नुभयो, ‘बन्द हड्ताल गर्न र तालाबन्दी गर्न मात्र सिकाउने, उक्साउने काम भइरहेको छ । पञ्चायतकालमा केही गर्न नसक्नेहरु, अहिले जुलुस निकाल्दैछन् । तानशाहीबिरुद्ध केही नबोलेकाहरु अहिले जनता भड्काउँदैछन् । त्यसबेला दरवारको टाट्नामा कलिला कलिला मुन्टा खाएर बसेकाहरु अहिले गणतन्त्र बिरुद्ध लागेका छन् । तीनलाई जनताले चिन्नुपर्छ ।’ बिभिन्न समयमा लाभका पदमा बसेका र मन्त्री बनेकाहरुले देश र जनताका लागि एउटा सिन्को पनि भाँच्न नसकेको र अहिले तिनै नागरिक र मधेशको अधिकारका लागि भनेर आउनु बिडम्बना भएको उहाँले बताउनुभयो ।
संसदलाई धन्यवाद
ओलीले देशहितको पक्षमा नरहेको संविधान संशोधन प्रस्ताव अस्वीकार हुनुको बिकल्प नभएको भन्दै त्यसका लागि सार्बभौम संसदलाई धन्यवाद दिनुपर्ने बताउनुभयो । ‘देशको हितको बिरुद्धमा रहेको र तराई पहाड छुट्टयाउने संशोधन भएकाले त्यसलाई अस्वीकार गरेको हो । संसदलाई धन्यवाद छ’ ओलीले भन्नुभयो, ‘संसदले राष्ट्रिय हैसियत देखाएर अनुचित प्रस्तवालाई असफल बनायो । संसद र सांसदहरुलाई धन्यवाद छ ।’
….
Related