बलराम प्यासी
प्रर्दशनी हल भृकृटीमण्डप र नेपाल प्रज्ञाप्रतिष्ठान बाहेक अन्यत्र मुस्किलले हुने वृहत पुस्तक प्रदर्शनी शुक्रबार आफ्नै विद्यालयमा आयोजना गरिएपछि कोटेश्वरस्थित ग्रामर पब्लिक स्कुलका विद्यार्थीहरु दंग मात्रै परेनन उनीहरुले पनि आफुलाई मन पर्ने लेखकका थुप्रै पुस्तक किने ।
विद्यार्थी मात्रै नभई विद्यार्थीका साथ लागेर आएका उनीहरुका अभिभावकले पनि प्रर्दशनी हेरेर आफुलाई मन परेका थुप्रै पुस्तक किनेर लगेका थिए । प्रर्दशनी आइतबारसम्म चल्ने विद्यालयले जनाएको छ ।
विद्यार्थीहरुलाई आफ्नो कक्षाको पाठ्यपुस्तक बाहेक अन्य सन्दर्भ सामाग्री र सामाजिक, साहित्यिक, विज्ञानसम्वनिध र ज्ञानवद्र्धक पुस्तकहरु पढ्ने बानी वसाल्न विद्यालयमै पहिलोपल्ट यसप्रकारको वृहत पुस्तक प्रर्दशनी आयोजना गरेको विद्यालयका संस्थापक प्रिन्सिपल राजकुमार राईले बताए ।
सुनवर्सी बुक हाउसले पहिलोपल्ट राजधानीको विद्यालयमा आयोजना गरेको यसप्रकारको वृहत पुस्तक प्रदर्शनी र विक्रीमा मदन पुरस्कार, पद्मश्री पुरस्कार र पहिचान साहित्य पुरस्कार विजेता सबैजसो कृतिहरु राखिएको बुक हाउसका सञ्चालक तारानिधि रेग्मीले बताए ।
हरिवंश आचार्यको ‘चिना हराएको मान्छे’ र ‘हरिबहादुर’देखि, नारायण वाग्लेको ‘पल्पसा क्याफे’, बुद्धिसागरको ‘फिरफिरे’ र ‘कर्णाली ब्लुज’देखि झकमकुमारी घिमिरेको ‘जीवन काँडा कि फूल’ विनोद चौधरीको ‘आत्मवृत्तान्त’देखि कुन्द दिक्षितको ‘युद्धपछि जनता’, अमर न्यौपानेको ‘सेतो धरती’देखि जोन उडको ‘माइक्रोसफ्टदेखि बाहुँडाँडासम्म’ प्रदर्शनीमा राखिएको छ ।
यसैगरि कर्ण शाक्यको ‘सोच’, ‘खोज’ र शरच्चन्द्र वस्तीको ‘हाम्रो भाषा’, नारायण ढकालको ‘शोकमग्न यात्री’, सुधीर शर्माको ‘प्रयोगशाला’, गोविन्द वर्तमानको ‘हरियो साइकल’, नयनराज पाण्डेको ‘लु’ र ओशोको ‘सम्भोगबाट समाधितिर’ र पारिजातका सवै कृतिहरु समावेश छ ।
विदेशी लेखकमा संसारभरी ६५ लाख प्रति विक्री भएको दावी गरिएको पाउलो कोयलोको ‘द आल्केनिस्ट’का साथै भारतीय लेखक रविन्द्र सिंह र चेतन भगतका कृतिहरु, विद्यार्थीका लागि वालकथा, चित्रकथा, लघुकथा, उपन्यास, फिक्सन तथा ननफिक्सन पुस्तक प्रदर्शनीमा राखिएको छ ।
प्रदर्शनीमा फाइन प्रिन्ट, नेपालय, सांग्रिला, बुक हिल, पैरवी बुक हाउस, शिक्षक मासिक, कथालय, बुक आर्ट, मधुवन प्रकाशन, भुँडीपुराण प्रकशन, विद्याथर््ी प्रकाशन, रत्न पुस्तक, रिड मोर, लिपी बुक्स, सिकाइ समुह, फिनिक्स बुक, एजुकेशनल बुक हाउस, मकालु, हिमाल, जगदम्बा प्रकाशनलगायत २४ प्रकाशन गृहका करीव १ हजार ८०० स्वदेशी र एकसयजति विदेशी लेखकका विभिन्न शिर्षकका चर्चित पुस्तक राखिएको छ ।
विद्यालयमै यसप्रकरको पुस्तक प्रदर्शनी गर्दा विद्यार्थीहरुमा पढ्ने वानी विकास हुनेमात्रै नभई एकै छानामुनि सयौं लेखक र उनीहरुका कृतिहरुको बारेमा पनि जानकारी मिल्ने प्रदर्शनीका आयोजक सुनवर्सी बुक हाउसका सञ्चालक रेग्मीले बताए ।
बिहीबारमात्रै दोलखाको चरिकोट नगरपालिकास्थित कालिञ्चोक माविमा १० दिने पुस्तक प्रदर्शनीको आयोजना गरि एकलाख रुपैयाको किताव विक्री गरेर फर्केका रेग्मी ग्रामर स्कुलमा एकैदिनमा एक लाख रुपैयाँको किताव विक्री हुँदा दंग परेका थिए । विद्यार्थीका लागि प्रदर्शनीमा कितावको मुल्यमा २० प्रतिशत छुट दिइएको रेग्मीले बताए ।
राजधानीका नीजि विद्यालयमा पढ्ने विद्यालयका विद्यार्थी मोवाइल, इन्टरनेट र टेलिभिजनमा मात्रै आर्कषित हुन्छन भन्ने कुरा ग्रामर स्कुलका विद्यार्थीले गलत सावित गरिदिएको बताउँदै सञ्चालक रेग्मीले विद्यार्थीलाई नयाँनयाँ किताव किनेर लगिदिएमा ध्यान दिएर पढ्ने रहेछन भन्ने कुरा पुष्टि भएको बताए ।
आफ्ना छोराछोरीले पढेन भनेर गाली गर्ने नभई उनीहरुलाई यस्ता पुस्तक प्रर्दशनीहरुमा सहभागी गराउन र नयाँ विषयका कितावहरु किनेर उपहार लगिदिने बानी बसाल्नुपर्ने रेग्मीको भनाई थियो ।
कक्षाको पाठ्यपुस्तक पढ्न एकवर्ष लाग्छ, तर नयाँ किताव मन लगाएर पढ्न विदार्थीले एक हप्तामै सक्ने पनि रेग्मीको दावी थियो ।







































