काठमाडौं । विवेकशिल साझा पार्टीका केन्द्रीय सदस्य, युवा अभियन्ता एवम् केएण्ड के कलेजका कोअर्डिनेटर पुकार बमलाई पितृशोक परेको छ भने पुर्व स्वास्थ्य सचिव डा.दीर्घसिंह बमलाई भातृशोक परेको छ । स्वर्गीय ताराबहादुर बम, पुर्व स्वास्थ्य सचिव डा.दीर्घसिंह बमका जेठा दाजु हुन ।
पुकारका पिता ताराबहादुर बमको ८२ वर्षको उमेरमा त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आइतबार साँझ निधन भएको थियो । करीव डेढ महिना अघिदेखि श्वासप्रस्वास, दम, मधुमेहको उपचार गराईराखेका बमको केहीदिन अघि मष्तिष्कघातको उपचारका क्रममा निधन भएको छोरा पुकारले बताएका छन ।
स्वर्गीय बमको सोमबार अपरान्ह पशुपति आर्यघाटमा अन्त्यष्टि गरियो । स्वर्गीय बमलाई छोराहरु पुकार र पारस बमले दागवत्ति दिएका थिए । कान्छो छोरा पारस सोमबारमात्रै अष्ट्रेलियाबाट नेपाल आइपुगेका थिए ।
स्वर्गीय बमप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न विवेकशिल साझा पार्टीका केन्द्रीय संयोजक रविन्द्र मिश्र, प्रवक्ता एवम् केन्द्रीय सदस्य डा.सुरेशराज आचार्य, अर्का केन्द्रीय सदस्य एवम् संसदीय दलका नेता रमेश पौडेलका साथै केन्द्रीय सदस्यहरु रञ्जु दर्शना, जीवन श्रेष्ठ, मिलन पाण्डे, साधना राई, अर्जुनसिंह ठकुरी, सुबुना बस्नेत र ज्ञानेन्द्र निरौला पशुपति आर्यघाट पुगेका थिए ।
कैलाली मुढाका स्थायी बासिन्दा स्वर्गीय ताराबहादुरप्रति अन्तिम श्रद्धाञ्जली दिन धनगढी महानगरपालिकाका प्रमुख नृप ओड, पुर्वमन्त्री लालबहादुर खडका, के एण्ड के कलेज बानेश्वरका प्रिन्सिपल विमल खतिवडा पशुपति आर्यघाट पुगेका थिए ।
स्वर्गीय बमका श्रीमती, ६ छोरी र २ छोरा छन् ।







































