वैदेशिक रोजगारीका महिला श्रम र यौन शोषणमा

416

काठमाडौँ ।
वैदेशिक रोजगारीमा गएका महिला श्रमिकहरु श्रम र यौनको दोहोरो शोषणमा पर्ने गरेकोले उनीहरुको अधिकार संरक्षणमा सम्वन्धित निकाय सचेत हुुनुपर्नेमा जोड दिइएको छ ।
महिला विकास तथा कानुन मञ्च जोन्ता इन्टरनेशनल र युएन ओमेन लगायतका संस्थाले विहीवार राजधानीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले वैदेशिक रोजगारमा जाने महिला श्रमिकहरु श्रम र यौन शोषणमा पर्ने गरेकोप्रति चिन्ता व्यक्त गरेका थिए ।
उनीहरुले वैदेशिक रोजगारीमा जाने महिलाहरुलाई दलालको भनाइमा नलागी सबैकुरा बुझेर वैधानिक बाटोबाट मात्रै जाँदा बढी सुरक्षित हुने कुरामा पनि जोड दिए । दलालले एउटा काम भनेर अर्काे काममा पठाउने अनि उनीहरु त्यहाँ घरेलु हिंसा र यौन शोषणमा पर्ने गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
महिला विकास तथा कानुन मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मानव बेचविखन र वैदेशिक रोजगारीबीच अन्तर सम्वन्धबारे प्रकाश पार्दै पछिल्लो समयमा वैदेशिक रोजगारीको नाउँमा धेरै महिलाहरु वेचविखनमा पर्ने गरेको बताए ।
वैदेशिक रोजगार सम्वन्धी ऐन, कानुन कार्यान्वयनमा कडाई, यससँग सरोकार राख्ने सबैपक्ष सचेत हुनुको साथै वैधानिक बाटोबाट मात्र जाने र पठाउनेले झुक्याएमा त्यसलाई कडा कार्वाही हुने कानुन ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा श्रम तथा रोजगार मन्त्रालयका कानुन उप–सचिव अर्जुन प्रसाद खनालले अहिले वैदेशिक रोजगार सम्वन्धी कानुन संशोधनको प्रक्रियामा रहेको उल्लेख गर्दै मानव वेचविखन विरूद्ध काम गर्दै आएका संघसंस्थाको सुझाव कानुन संशोधन प्रक्रियाका लागि प्रभावकारी हुने बताए ।
नेपाल प्रहरीे महिला वालवालिका सेवा निर्देशनालयका प्रहरी उपरिक्षक दीलिप सिंह देउवाले वैदेशिक रोजगारलाई सुरक्षित बनाउन वैदेशिक रोजगार विभागमै पनि सम्वन्धीत विज्ञ टोली सहभागी कमिटी गठन गर्न सके रोजगारीमा जाँदा ठगिएका पीडित नेपालीको उद्धार, क्षतिपूर्ति दिलाउने कार्यमा समन्वय गर्न प्रहरीलाई सजिलो हुने बताए ।
वैदेशिक रोजगारीमा हरेक दिन नयाँ नयाँ समस्या थपिदै गएको र यसबारे कानुनमा अष्पष्टता रहेकोले प्रहरीलाई काम गर्न गाह्रो भईरहेको बताए ।
महान्यायधिवक्ताको कार्यलयका सह–न्यायधिवक्ता कृष्णजीवि घिमिरेले वैदेशिक रोजगारीमा जाँदा वैधानिक बाटो अपनाएर, सम्वन्धित सिप सिकेर मात्र जानसके वेचविखनमा पर्न सक्ने सम्भावना कम भएपनि जोखिम मोलेरै त्यसतर्फ जानेको संख्या बढीरहेकोले महिलाका लागि वैदेशिक रोजगार असुरक्षित बन्दै गएको उहाँले बताउनुभयो ।
कार्यक्रममा सहभागी जोन्ता इन्टरनेशनलका प्रमुख सोन्जा ह्वाङसङ्घले जोन्ताले संयुक्त राष्ट्रसङ्घीय निकाय युएन ओमेनसँग सहकार्य गरी नेपालमा काम गरिरहेको बताउँदै काम गर्ने क्रममा महिला–पुरूषको असमान अधिकारको नकारात्मक प्रभावले महिलाको हक अधिकारलगायत थुप्रै क्षेत्र प्रभावित भएको बताइन ।
युएन ओमेनका रणनैतिक साझेदार विज्ञ सरू जोशीले महिला आत्मनिर्भर बन्ने, केही कमाएर छोराछोरी राम्ररी पढाउनेलगायतका इच्छाले वैदेशिक रोजगारमा जाँदा धेरै जोखिममा परिरहेको सन्दर्भमा स्वेदेशमै उद्यमी बन्न युएन ओमेनले प्रदान गरेको सीपमुलक तालिमले धेरै महिला वेचविखनमा पर्ने जोखिमबाट मुक्त पार्न सहयोग पुगेको बताइन ।