राजविराज– सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष इन्द्रदेव साहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। राजमार्ग किनारका शिशौ काटेको आरोपमा जिल्ला वन कार्यालयले साह विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।
शम्भुनाथ नगरपालिका क्षेत्र अन्तर्गत पूर्व–पश्चिम राजमार्ग किनारका शिशौ काटेको भन्दै सडक डिभिजन कार्यालय लहानका नायव सुब्वा सत्यनारायण चौधरीले साह विरुद्ध किटानी जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा वन कार्यालयले दुई दिनअघि पक्राउ पुर्जी जारी गरेको शम्भुनाथ इलाका वन कार्यालयका सहायक वन अधिकृत मनोजकुमार कर्णले बताए।
घट्ना स्थलमा बरामद भएका करिब ५१ क्युफिट काठ मुचुल्का गरी वन कार्यालयले नियन्त्रणमा लिएको कर्णले जनाए। ‘वडाध्यक्ष साहसँग सम्पर्क हुन सकेको छैन,’ मेयर योगेन्द्र चौधरीले भने, ‘वडा अध्यक्षलाई फसाइएको पनि हुन सक्छ ।’
शीतलहर पीडितलाई राहत दिन नगरपालिकासँगको छलफल र सहमतिमै वडाध्यक्ष साहले सुकेका रुख कटाएको बताउँदै मेयर चौधरीले साहको बचाउमा भने, ‘न त उनले रुख काटेर घर लगेका हुन्, न त बिक्री गरेका हुन् । नागरिकलाई सेवा दिन रुख काटिएको हो।’








































