Home समाचार शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्ष सम्म नगरकोट सडक अलपत्र बनाएपछि स्थानीय आन्दोलित
आन्दोलनका कार्यक्रम घोषणा
भक्तपुर । दुई बर्षमा निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने भत्केकोपार्टी–नगरकोट सडक ७ बर्षमा पनि नबनेपछि स्थानीयले २ सय ५१ सदस्यिय नगरकोट सडक पिडित संघर्ष समिति गठन गरि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी–खरिपाटी–तेलकोट–नगरकोट खण्डको ४० किमी सडक निर्माण आयोजनाको जिम्मा पाएको शैलुङ्ग कन्ष्ट्रक्सनले ७ बर्षमा पनि निर्माण अलपत्र बनाएपछि स्थानीय आन्दोलित बनेका हुन् ।
गत शनिबार सडकखण्ड अन्र्तगतका नगरकोट, मण्डनदेउपुर, छालिङ्ग, बागेश्वरी, सुडालका स्थानीयहरुको भेलाले स्थानीय राजकुमार लामिछानेको संयोजकत्वमा सविता खत्री सहसंयोजक र रमेश अधिकारी सचिव रहेको २ सय ५१ सदस्यिय समिति गठन गरि अबको ५ महिनाभित्र सडक निर्माण कार्य सम्पन्न गरिसक्नुपर्ने, सडकका बीचमा छोडिएका बिजुलीका पोलहरु हटाउनुपर्ने, जग्गाको मुआब्जा दिनुपर्ने, नाली तथा जोखिमयुक्त स्थानका सडक आसपासमा रिर्टेनिङ्ग वाल लगाउनुपर्ने, निर्माण कार्य गुणस्तरिय हुनुपर्नेलगायतका माग राखी समितिले आन्दोलनको घोषणा गरेको हो ।

नगरकोट सडकका पिडितहरुले निर्माण व्यवसायीको लापरवाहीका कारण धुलो, धुवा, हिलो र खाल्डाखुल्डाीका कारण जनजिवत प्रभावित बनेको भन्दै आन्दोलनको बिकल्प नभएको बताएका छन् । भेलामा सहभागि निर्माण व्यवसायी संघ भक्तपुरका अध्यक्ष निरञ्जन बजगाई, गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा भक्तपुरका अध्यक्ष सोम शर्मा (बजगाईं), स्थानीय मधुराम लामिछाने, पुष्पराज बास्तोला, हरिहर गिरी, पद्म लामा, इन्द्र प्रसाद कायस्थ, जीवन खत्री, चाँगुनारायण नगरपालिका ६ नं. वडाका अध्यक्ष सन्त बहादुर वाइवा, रामप्रसाद लामिछाने ‘पिडित’लगायतले निर्माण सम्झौता भएको अवधिभन्दा बढि समयदेखी अटेर गरि निर्माण कार्य अबरुद्ध गर्ने व्यवसायीलाई कारवाही गर्न माग गर्नुभयो ।
संघर्ष समितिले आफ्नो संघर्षको कार्यक्रम अन्र्तगत नगरपालिका, जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, प्रदेश सरकार, संघ तथा प्रदेश सांसद, शैलुङ्ग कन्ष्ट्रक्सनको प्रोपाइटर सारदा अधिकारी, आयोजना कार्यालय, भौतिक योजना तथा निर्माण मन्त्री, प्रधानमन्त्री र राष्ट्रपतीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । व्यवसायीले तत्काल निर्माण कार्य अगाडि नबढाए धर्ना, जुलुस र सडक नाकाबन्दी गर्नेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको संघर्ष समितिका संयोजक राजकुमार लामिछानेले जानकारी दिनुभयो ।
Related