मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ मा करिब ७ सय वर्षअघि ढुङ्गा र माटोले निर्माण गरिएको प्राचीन चराङ दरबार संरक्षणको प्रतीक्षामा छ। मुस्ताङका प्रथम राजा आमेपालको पालामा निर्माण गरिएको उक्त दरबारको एक भाग भत्किएको छ भने उचित संरक्षण र मर्मतसम्भारको अभावमा सम्पूर्ण संरचना जीर्ण बन्दै गएको छ। उपल्लो मुस्ताङ जाने पर्यटकका लागि यो दरबार प्रमुख आकर्षणका रूपमा रहेको छ।
१३औँ शताब्दीमा निर्माण गरिएको पाँचतले दरबार पूर्ण रूपमा रैथाने शैलीमा ढुङ्गा, माटो र काठको प्रयोग गरी बनाइएको चराङका वडा अध्यक्ष टे धुन्डु ठकुरीले बताउनुभयो। उहाँका अनुसार दरबार संरक्षणका प्रयास भए पनि स्थानीय तहको बजेटले मात्र सम्भव नहुने भएकाले संघीय र प्रदेश सरकारबाट बजेट विनियोजन आवश्यक छ।
उहाँले दरबारसम्म जाने सडकसहितका पूर्वाधार व्यवस्थित गर्न सके मुख्य संरचनाको संरक्षण तथा पुरानै शैलीमा मर्मत सम्भव हुने बताउनुभयो।
प्राचीन राज्यको जीवित इतिहास भएकाले यसलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नुपर्ने माग स्थानीयवासीले गर्दै आएका छन्। चराङ छोदे गुम्बाका लामाहरूले दरबारलाई पर्यटकका लागि नियमित रूपमा खुला गर्दै आएका भए पनि भित्री भाग जीर्ण भएकाले एकैपटक धेरै पर्यटकलाई प्रवेश गर्न निषेध गरिएको छ।
दरबारभित्र तत्कालीन समयमा तिब्बत र जुम्ला राज्यसँग भएका युद्धमा प्रयोग गरिएका ढाल, तरबार, पुराना मुकुट, मूर्ति तथा धार्मिक ग्रन्थहरू सुरक्षित राखिएका छन्। साथै, दरबारभित्र मानव हात (सुकेको कालो हात) झुन्ड्याएर राखिएको छ। स्थानीय बुढापाकाका अनुसार दरबार निर्माण गर्ने मुख्य कालीगढले अन्यत्र पनि यस्तै दरबार बनाउन सक्ने आशंकामा तत्कालीन राजाको आदेशमा हात काटेर राखिएको भन्ने कथन छ। पर्यटकले उक्त हातको तस्वीर खिच्न अनुमति छैन।
दरबार नजिकै रहेको चराङ छोदे गुम्बा र दरबारलाई तत्कालीन राजपरिवार र धार्मिक लामाहरूले पवित्र सम्बन्धका रूपमा व्याख्या गर्दै आएका छन्। मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले उपल्लो मुस्ताङमा रहेको यो दरबारले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गरिरहेकाले यसको संरक्षणमा सरकारले विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो।
उहाँले भन्नुभयो, “कृतिम संरचना बनाएर पर्यटक आकर्षित गरिन्छ, यहाँ सयौँ वर्ष पुराना जीवित सम्पदा भने भग्नावशेष बन्दै गएका छन्।” तिब्बतको सिमाना कोरला नाकासम्म पुग्ने जोमसोम–कोरला सडकखण्डमा पर्ने चराङ दरबारसँगै चराङ गुफा, गुम्बा, सेतो पहाडलगायत विभिन्न पर्यटकीय गन्तव्यहरू रहेका छन्।
गोरखापत्रबाट








































