‘सकारात्मक सन्देश प्रवाहमा प्रवक्ताहरूको भूमिका महत्वपूर्ण’

209

काठमाडौं : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले सरकारले गरेका राम्रा कामहरू जनता र आम सञ्चार माध्यममा पुर्‍याउन र सरकारका विरुद्ध फैलाइएका आधारहीन कुराहरूलाई निरुत्साहित गर्दै जनतासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न प्रवक्ताहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन्। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा सूचना प्रवाहमा प्रवक्ताहरूको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यसका लागि प्रवक्ताहरू जिम्मेवार भई सूचना प्रवाह गर्नपर्ने  बताएका हुन्।

सोही कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले प्रवक्ताको भूमिका निर्वाह गर्न केही कठिनाइहरू भएता पनि सरकारका राम्रा कामहरू आमसञ्चार माध्यममार्फत सर्वसाधारण जनतासमक्ष पुर्‍याउन प्रवक्ताहरूले प्रो एक्टिभ भई भूमिका निर्वाह गर्नुपर्ने बताए। उनले यसका लागि मन्त्रालय भित्रका विभिन्न महाशाखा/ शाखाहरू तथा मन्त्रालय-मन्त्रालयवीच समन्वयको आवश्यकता रहेको औँल्याउँदै समन्वयका लागि मन्त्रिपरिषद्को कार्यालय सदैव क्रियाशिल रहेको भनाइ राखे

अन्तर्क्रिया कार्यक्रममा डा. अर्यालले समन्वय र सञ्चार विषयमा प्रस्तुति गर्नुका साथै आजको सर्वव्यापक सञ्चारको युयमा आफू वा आफ्नो निकाय वा संस्थाका बारमा उठेका प्रश्नको यथोचित उत्तर दिनै पर्ने तर्क गरे। ‘तथ्यपरक र सम्प्रेषणीय उत्तरले सत्य कुरा सतहमा त ल्याउँछ नै। उत्तर प्रस्तुत गरेर सरकारले आफ्नो उत्तरदायित्व समेत निर्वाह गर्दछ। त्यसैले चुपचाप बस्नु उत्तरदायित्व निर्वाह नगर्नु पनि हो’ उनले भने ‘यसरी एक प्रवक्ताले सरकारको उत्तरदायित्व अनुभुत गराउने महत्वपूर्ण  भूमीका निर्वाह गर्न सक्दछ भन्ने प्रधानमन्त्रीज्यूको सन्देश समेत जानकारी गराउनु भएको थियो।’

त्यसैगरी, वरिष्ठ पत्रकार तीर्थ कोइरालाले प्रवक्ताहरूका लागि आवश्यक व्यवहारिक ज्ञान र सीप सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए। सो कार्यक्रममा मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले प्रवक्ताको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिका, २०६३ लाई परिमार्जन गर्न लागिएको र उक्त निर्देशिकामा परिमार्जन गर्नुपर्ने विषायहरुका सम्बन्धमा नेपाल सरकारका विभिन्न मन्त्रालय/आयोग/सचिवालय तथा केन्द्रीय निकायका प्रवक्ताहरुलाई अनुरोध गरे। उक्त अन्तर्क्रिया कार्यक्रममा  नेपाल सरकारका मन्त्रालय, आयोग, सुरक्षा निकायहरुका प्रवक्ताहरूको उपस्थिति रहेको थियो।

Source link