सङ्खुवासभामा जिप दुर्घटना: दुई जनाको मृत्यु, तीन घाइते

0

सङ्खुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप चैनपुर–१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिनुभयो। दुर्घटनामा मृत्यु भएका व्यक्तिहरूको पहिचान हालसम्म खुल्न सकेको छैन।

दुर्घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नं. ४ गुल्म चैनपुरका प्रहरी नायब उपरीक्षक बाबुराम पौडेल, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक पर्शुराम राईसहितको टोली घटनास्थल पुगेको थियो।

दुर्घटनामा घाइते भएका तीनै जनाको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।