सिरहा सदरमुकामस्थित कारागारमा जिल्ला सुरक्षा समिति सिरहाले सोमबार गरेको अनुगमनका क्रममा हतियार बरामद भएको छ।
अनुगमनका क्रममा एक थान पेस्तोल, त्यसमा लाग्ने दुई थान गोली तथा काठमा काँटी ठोकिएको घरेलु हतियार फेला परेको हो। हतियार बरामद भएपछि कारागारका नाइके इन्द्रजीत यादवसहित १३ जना कैदीबन्दीलाई कारागारबाट बाहिर निकालेर अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो।
प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार कारागार कब्जामा लिई अप्रिय घटना घट्न सक्ने सूचना प्राप्त भएपछि बिहानैदेखि जिल्ला सुरक्षा समितिले कारागारभित्र अनुगमन गरेको थियो। सोही क्रममा उक्त हतियारहरू बरामद गरिएको हो।
नाइके यादवसहित १३ जनालाई कारागारबाट निकालेर हाल जिल्ला प्रहरी कार्यालय सिरहाको हिरासतमा राखिएको छ। उनीहरूलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको र कारागारको सुरक्षा व्यवस्थालाई थप कडा बनाइने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।








































