बलराम प्यासी
काठमाडौं । सुतिरहेको छोरालाई मध्यरातमा काटेर दुईटुक्रा पारीसकेपछि हत्यारा बाबुले कोटेश्वर प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । भक्तपुरको लौकहिल्थीस्थित डेरामा सुतिरहेको छोरालाई काटेर हत्या गरि बाबु हिँडेर गई कोटेश्वर प्रहरीसमक्ष आत्मसर्मपण गर्न पुगेका थिए ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरका प्रमुख, प्रहरी निरीक्षक राजु लामाका अनुसार मोरंग जिल्ला अमरदह ४ का ४३ वर्षिय डिल्लीराम चापागाईले आफ्नै १७ वर्षका छोरा सागर चापागाईलाई भक्तपुरको लौहकिल्थलीस्थित आफ्नै डेरामा सुतिरहेको अवस्थामा काटेर हत्या गरेको बताएका थिए ।
मध्यराती करीव १२ बजेतिर आफ्नो ‘छोरालाई काटें’ भन्दै चापागाई कोटेश्वर प्रहरी प्रभागमा आत्मसमर्पण गर्न आएको निरीक्षक लामाले बताए । निरीक्षक लामा अनुसार छोरालाई काटेपछि झ्यालबाट हामफालेर चापागाई प्रहरीकहाँ पुगेका थिए ।
छोराको हत्याको दावी गरेका चापागाईलाई लिएर राती नै प्रहरी निरीक्षक लामाको टोली लौहकिल्थलीस्थित उनको डेरामा पुग्दा हत्या गरिएका छोराको शव घाँटीबाट टाउको छुटिटएर दुईटुक्रा भएर खाटमै रहेको र कोठा रगताम्मे भएको अवस्थामा फेला पारेको थियो ।
त्यसपछि कोटेश्वर प्रभागको प्रहरी टोलीले चापागाईलाई महानगरीय प्रहरी वृत्त ठिमीको जिम्मा लगाएर फर्केको थियो । छोराको हत्याको दावी गरेका चापागाईलाई आवश्यक कारवाहीको लागि ठिमी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
ज्यामी काम गर्दै आएका चापागाईलाई झगडा गर्दा श्रीमतीले ‘सागर तेरो छोरा होइन’ भन्ने गरेकोले मानसिक तनावका कारण सँधै अर्काको छोरालाई किन पाल्ने ? भनेर काटेको प्रहरीलाई बताएका छन् ।
‘अंश र वंश’ सही हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको चापागाईले प्रहरीलाई बताउँदै आफुले छोरा काटेकोमा कुनै पछुतो नरहेको प्रहरीसमक्ष आत्मसर्मपणका क्रममा बताएका छन् ।
हत्या गरिएका सागर कोटेश्वरस्थित काञ्जिरोवा कलेजमा १२ कक्षाका विद्यार्थी थिए ।







































