सुनसान सौराहामा पर्यटक चहलपहल, व्यवसायीमा आशा पलायो

11
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

चितवन । दसैँभर सुनसान देखिएको सौराहा पुनः पर्यटकको चहलपहलले तात्न थालेको छ। आज मात्रै सौराहास्थित युनिक वाइल्ड रिसोर्टमा तेस्रो मुलुकका ३० जना पर्यटक आउँदैछन् भन्ने जानकारी दिँदै रिसोर्ट सञ्चालक गुणराज थपलियाले खुशी व्यक्त गर्नुभयो।

गत वर्षको तुलनामा यस वर्षको दसैँमा पर्यटकको अत्यन्तै न्यून उपस्थिति देखिएको सौराहामा अहिले भने स्थिति परिवर्तन हुँदै गएको छ। क्षेत्रीय होटल संघका उपाध्यक्षसमेत रहनुभएका थपलियाका अनुसार “दसैँको समयमा जम्मा पाँच प्रतिशत हाराहारी पर्यटक मात्र थिए, तर हिजोआज स्थिति सुधार हुँदैछ। अहिले करिब ३० प्रतिशत हाराहारी पर्यटक आइपुगेका छन्।” उहाँले आगामी दिनमा अझै सुधार हुने अपेक्षा गर्नुभयो।

क्षेत्रीय होटल संघका अध्यक्ष ओम पाण्डेले पनि आफ्ना होटल ल्यान्डमार्क र अन्य होटलहरूमा पर्यटक आउन थालेको जानकारी दिनुभयो। “जेनजी आन्दोलनअघि नेपाल आएकाहरू, सडक अब राम्रो भएपछि सौराहा आउन थालेका छन्,” उहाँले भन्नुभयो, “बुकिङहरू पहिले कम भए पनि हिँडेरै आउने पर्यटकहरूको सङ्ख्या बढ्दो छ।”

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेले पनि क्रमशः पर्यटक बढ्दै गइरहेको बताए। “तिहारको समयसँगै स्वदेशी पर्यटक पनि बढ्ने अपेक्षा गरिएको छ। निकुञ्जभित्रको जङ्गल सफारी खुलेपछि विदेशी पर्यटकको चासो झनै बढेको देखिन्छ,” उहाँले बताउनुभयो। उहाँका अनुसार सडक सञ्जाल सहज भएकोले बिदाका दिनहरूमा पर्यटकको चाप अझै बढ्नेछ।

होटल भिष्टाका सञ्चालक रमेश सिलवालले आजमात्रै १४ जना पर्यटक टेलिफोनमार्फत सौराहा आउँदै गरेको जानकारी दिनुभयो। “विभिन्न माध्यमबाट पर्यटकले जानकारी लिँदैछन्, अब क्रमशः चहलपहल बढ्ने विश्वास छ,” उहाँको भनाइ छ।

सौराहाका पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाले रेष्टुराँ तथा हात्ती सफारीतर्फ पनि पर्यटकको आकर्षण बढ्दै गएको बताए। “विगतका वर्षहरूमा दसैँमा हात्ती सफारी गर्न ठूलै चाप पर्थ्यो, तर यस वर्ष दसैँभर सौराहा सुनसान थियो। अहिले भने पुनः गति लिँदैछ,” उहाँले भन्नुभयो।

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडा, पाटे बाघजस्ता प्रजातिहरू अवलोकन गर्न आउने पर्यटक सौराहामै बस्न रुचाउँछन्। यहाँको निकुञ्ज सफारी विश्वमै चर्चित गन्तव्य मानिन्छ।

स्थानीय व्यवसायीहरू अब आउने तिहार र पर्यटकीय मौसमको पूर्ण लाभ उठाउने तयारीमा छन्।