काठमाडौं- तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार (ल्हाेसार) अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ। यो २८५५औँ सोनाम ल्होछार हो।
मञ्जुश्री पात्रो सुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्हाेसार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्हाेसार पर्व मनाइन्छ।
ल्होसारका १२ वटै वर्ष पशुपंक्षीको नामबाट गणना गरिएकाले याे पर्व प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए। मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्हाेसारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिइन्।
यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ। सोनाम ल्होसार महोत्सवका नाममा तामाङ खाना, भेषभूषा, कला संस्कृतिलगायतको प्रदर्शन गरिने जनाइएको छ।
आज दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने मूल आयोजक समितिले जनाएको छ। यस अवसरमा आज प्रदेश २ र ३ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ।







































