काठमाडौं ।
वि.सं २०११ सालदेखि हालसम्म अनवरतरुपमा आफ्नो जीवनलाई स्काउट अभियानमा समर्पित गरेका नेपाल स्काउटका जेष्ठ गुरु एव्म नेपाल स्काउट राष्ट्रिय परिषदका सदस्य ९२ वर्षिय प्रा.गोविन्द नारायण ‘ज्यापू’ लाई शनिबार स्काउट अभिनन्दन गरिएको छ ।
यसैगरि विगत ६ दशकदेखि स्काउट अभियानमा सक्रिय रहेकी नेपाल स्काउटकी जेष्ठ गुरुआमा श्रीमती रामवदन जोशीलाई पनि अभिनन्दन गरिएको छ । नेपाल स्काउटको ज्यूँदा इतिहासको रुपमा रहेका दुवैजना राष्ट्रिय प्रशिक्षक हुन भने नेपाल स्काउटको सर्वाेच्च पदकबाट सुनौलो गैंडा (गोल्डेन राइनो) बाट विभूषित व्यक्तित्व हुन । यो पदक निकै कम व्यक्तिहरुले मात्रै पाएका छन् । प्रा.ज्यापू नेपाल स्काउटको चर्चित गीत ‘हिँडछु सँधै शुद्ध मन, वचन र कर्म साथ लिई’ गीतका गीतकारसमेत हुन ।

चारुमति मित्र ओपन स्काउट ट्रुप÷क्र्युको २१ औं वार्षिकोत्सवको अवसरमा नेपाल स्काउट केन्द्रीय तदर्थ समितिका संयोजक चन्दन कौशिक तथा चारुमतिका अध्यक्ष दिपेश केसी र रेन्जर लिडर सविना श्रेष्ठले प्रा.ज्यापू तथा जोशीलाई स्काउट अभिनन्दन गरेका हुन । सोही अवसरमा प्रा.ज्यापू तथा जोशीलाई उपत्यकाका तीनैवटा जिल्लाका करीव ३० वटा विभिन्न स्काउट इकाईहरुले सम्मान गरेका थिए ।
कार्यक्रममा अभिनन्दित व्यक्तित्वद्धय प्रा.ज्यापू र जोशीले स्काउटमा आवद्ध भएपछि सबैजना अनुशासित, इमान्दार र नैतिकवान हुने कुरामा दुइमत नरहेको बताउँदै सँचै राम्रो र असल काम गर्नमात्रै अभिप्रेरित हुने बताए ।
चारुमति मित्र ओपन स्काउट ट्रुप÷क्र्युको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियेगिताका विजयीहरुलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको थियो । सोही अवसरमा सम्झना श्रेष्ठलाई उत्कृष्ट रेन्जर तथा गोविन्द चौधरीलाई उत्कृष्ट रोभर स्काउटको रुपमा सम्मान गरिएको थियो ।







































